मंगलवार, चैत्र २४ २०७७
नेपाल वाइड
खोटाङ । चैत २४, खोटाङको खोटेहाङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा भगवती दिनानाथ माबिको संयोजनमा खोटाङबजारमा छात्र तथा छात्रा खेलकुद प्रतियोगीता सुरु भएको हो ।
दुई दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सोमबार गाउँपालिका अध्यक्ष प्रदीप राईको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष कविता राईको विशेष आतिथ्यतामा उद्घाटन गरिएको हो ।
भगवती दिनानाथ माबिको प्रांगणमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्तरगत छात्रा भलिबलमा सप्तकन्य माबि खोटेहाङ गााउँपालिका–५ लाई पछि पार्दै सिमपानी माबि खोटेहाङ गाउँपालिका–८ प्रथम बनेको छ ।
यस्तै, छात्र भलिबलतर्फ भने बिणा माबि खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, महेन्द्रोद्धय माबि खोटेहाङ गाउँपालिका–२ वाप्लुखा, सावाकाली माबि खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, सप्तकन्य माबि चिप्रिङ खोटेहाङ गाउँपालिका–५, इन्द्रेणीपोखरी माबि खोटेहाङ गाउँपालिका–६, भगवती दिनानाथ माबि खोटेहाङ गाउँपालिका–७, कृष्ण माबि बर्रे खोटेहाङ गाउँपालिका–८, सिमपानी माबि सिमपानी खोटेहाङ गाउँपालिका–८ र लक्ष्मी माबि चिच्कीराम्चे खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको प्रतिष्पर्धा भइरहेको छ ।
यस्तै, कक्षा ९ देखि १२ कक्षाका छात्र कबड्डीमा ६ टिम र छात्रा कबड्डीमा ८ टिमबिच प्रतिष्पर्धा हुने छन् । कक्षा १ देखि कक्षा ८ सम्मका छात्र दौड प्रतियोगीतामा १३ टिम र छात्रातर्फ १२ टिमको सहभागीता रहेको गाउँपालिकाले जनाएको छ ।
भगवती दिनानाथ माबिका प्रअ कुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका वडाध्यक्ष दिपेन राई, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाअध्यक्ष शिव फुयाँल, खोटाङ क्याम्पसका सञ्चालक समिति अध्यक्ष राजन बञ्जरा, गाउँपालिकाका शिक्षा शाखा अधिकृत बाबाठकुरी रिजाल अधिकारी, गाउँपालिका तथा गाउँपालिका अन्तरगतका कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड महेन्द्रोदय मावि डाँडागाउँ ओख्रेले जितेको छ । चैत २० र २१ गते सञ्चालन गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत छात्र भलिबलमा शान्ति मावि छोरम्बु प्रथम, महेन्द्रोदय मावि ओख्रे दोश्रो, सरस्वती मावि कुलागाउँ तेश्रो भएका छन् ।
यस्तै, छात्रा तर्फको भलिबलमा धिप्लुङ मावि सेम्मा प्रथम, महेन्द्रोदय मावि ओख्रे दोश्रो, शान्ति निकेतन मिनाकर्ण मावि सापातेल तेश्रो भएको गाउँपालिकाका आइटी अफिसर मनिचन्द्र राईले जानकारी दिए । प्रतियोगीतामा पुरुषतर्फ आशिष भुजेल र महिलातर्फ सनिता राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरूषतर्फ महेन्द्र परियार र महिलातर्फ अनिषा थापाले अनुशासित पुरस्कार जितेका छन् । प्रतियोगीतामा छात्रतर्फ १४ र छात्रातर्फ १४ टिमको प्रतिष्पर्धा भएको थियो ।
विजेता खेलाडीलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल लगायतले पुरस्कार प्रदान गरेका थिए । गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, विव्यास अध्यक्ष, प्रअ, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
