मंगलवार, चैत्र २४ २०७७
नेपाल वाइड
खोटाङ । चैत २४, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आगलागी र हावाहुरी पिडितलाई राहत प्रदान गरेको छ । जंगलमा लागेको डढेलो गाउँमा पस्दा घर गुमाएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँका नैनबहादुर बिश्वकर्मा र हावाहुरीबाट पिडित दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा खामडाँडाका अर्जुन भुजेललाई राहत प्रदान गरेको हो ।
स्थानीय सरकारकातर्फबाट गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले आगलागी पिडित बिश्वकर्मालाई ३५ हजार र हावाहुरी पिडितलाई नगद २० हजार राहत प्रदान गरेका हुन् । प्रकोप पिडितलाई घरैमा पुगेर राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बालुङ सामुदायीक वनमा लागेको डढेलो वस्तीमा प्रवेश गर्दा बिश्वकर्माको चैत २१ गते घर जलेको थियो ।
ढुंगामाटोको तीन तले घर जल्दा उनको करिब साँढे सात लाख बराबरको क्षती भएको प्रहरीचौकी याम्खाले जनाएको छ । बस्दै आएको घर जलेपछि नैनबहादुरको ७ जनाको परिवारको विचल्नी भएको छ । यस्तै, चैत १७ गतेको हावाहुरीले भुजेलको घरको छाना पूर्णरुपमा उँडाएको थियो ।