शुक्रवार, चैत्र २० २०७७
नेपाल वाइड
खोटाङ । चैत २०, प्रदेश नम्बर १ को सामाजिक बिकास मन्त्री उषाकला राईलाई खोटाङका स्थानीयले लोकल रक्सी उपहार दिएका छन् । सामाजिक बिकास मन्त्री भएपछि पहिलोपल्ट खोटाङ प्रवेश गरेकी राईलाई शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्थानीयले आल्चाको तिनपाने रक्सी उपहार दिएका हुन् ।
खोटाङको पहिलो महिला मन्त्रीकारुपमा वडा कार्यालय बुईपाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईलाई बधाईसँगै उपहार स्वरुप एक बोत्तल लोकल रक्सी पनि दिइएको हो । कार्यक्रममा बुईपाका वडाध्यक्ष दिनेश राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’की अभियान्ताका रुपमा चिनिएकी मन्त्री राईलाई उपहार स्वरुप आल्चाको तिनपाने रक्सी प्रदान गरेका थिए ।
मन्त्री राई लोकल रक्सीमाथिको व्याण्ड (प्रतिवन्ध) फुकुवा गरेर ब्राण्ड बनाउने अभियानका अभियान्ता हुन् । सांसदको भूमीकामा रहेको बेला लोकल रक्सी माथिको प्रतिवन्ध फुकुवा गरेर औधोगीकरण गर्नुपर्ने आवाज उठाउँदै आएका कारण मन्त्री राईलाई बुईपाबासीले सो अभियानको सफलताका लागि लोकल रक्सी उपहार दिएका हुन् ।
स्थानीयको आर्थिक उपार्जनका लागि घरेलु रक्सीलाई औद्योगीकरण, बजारीकरण र ब्याबसायीकरण गर्ने सपना साकार पार्नका लागि हौसला स्वरुप मन्त्रीलाई रक्सी उपहार दिइएको वडाध्यक्ष राईले बताएका छन् । ‘तीनपाने ब्याण्ड होईन ब्राण्ड बन्नुपर्छ, सामाजिक विकास मन्त्री उषाकला राईलाई स्वागत तथा बधाई,’ युवा नेता मिलन राईले फेसबुकमा लेखेका छन्, ‘तीनपानेलाई ब्राण्ड बनाउने उहाँको अभियानलाई साथ दिँदै तीनपाने हस्तान्तरण गरिएको छ ।’
लोकल रक्सीमाथिको प्रतिवन्ध फुकुवा गरेर औधोगीकरण गर्नुपर्ने आवाज उठाउँदै आएकी राई नै मन्त्री बनेपछि ‘व्याण्ड भर्सेस ब्राण्ड’ले साकार रुप लिने धेरैको अपेक्षा छ । उसो त पदभार ग्रहण लगत्तै मन्त्री राईले कोदोको लोकल रक्सी माथिको व्याण्ड हटाएर ब्राण्ड बनाउने नारा प्रदेश नम्बर १ बाट लागू गर्न कोसिस हुने बिश्वास व्यक्त गरेकी छन् ।
२०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिईन् । लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने मन्त्री राईको भनाई छ ।