शुक्रवार, चैत्र २० २०७७
नेपाल वाइड
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले भने,‘केन्द्रीय समितिको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारको राजीनामा माग्ने निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छ ।’ उनले सरकारले राजीनामा दिएपछिको अवस्थामा कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको समेत जानकारी दिए ।
उनले भने,‘ओली सरकारले राजीनामा दिएपछिको अवस्थामा हाम्रो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय समेत गरेका छौं ।’ बैठकको एजेण्डाका विषयमा सहमति कायम नहुँदा केन्द्रीय समितिको बैठक बेलुका अबेरमात्रै शुरु भएको थियो ।
सरकारको राजीनामा माग्ने विषयलाई एजेण्डाका रुपमा राख्नुपर्ने माग उठेपछि आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका नेताहरुको अनौपचारिक बैठक समेत बसेको थियो ।
उक्त बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजाने सहमति गरेको थियो । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली सरकार विस्थापन गरेर नयाँ सरकार गठनका लागि पहल गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै आएका थिए । अब कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।