बुधवार, चैत्र १८ २०७७
नेपाल वाइड
खोटाङ । चैत १८, खोटाङमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा जिल्ला स्तरिय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी रुपमा हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ जिल्ला जनगणना कार्यालयले बुधबार जिल्ला स्तरिय सचेतना गोष्ठी गरेको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जनगणनाको परिचय, जनगणनाको आवश्यकता, नेपालको जनगणनाको इतिहास, जनगणनाका क्रममा गरिने घर तथा घरपरिवार लगत सूचीकरण, सामुदायीक प्रश्नावली, मूख्य प्रश्नावली, जनगणनाको तालिका, जनगणनामा समेटिने विवरण लगायतका बारेमा जानकारी दिइएको छ । सहभागीलाई राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त जानकारी र तयारी कार्यका बारेमा जानकारी गराइएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए ।
आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउनका लागि जिल्ला जनगणना कार्यालयले राजनैतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रमुख, पत्रकार लगायतलाई सहभागी गराएर सचेतनामुलक गोष्ठी गरेको हो । ‘जनगणना केहो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्यांकको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषता सम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको हो,’ जनगणना अधिकारी कोईरालाले भने, ‘सहभागीलाई गनगणनाका प्रश्नावली, घर परिवार लगत सूचिकरण, जनगणना २०७८ को मूख्य दिनहरु, जनगणनामा समेटिने विवरणहरुका बारेमा पनि जानकारी गराइएको छ ।’ कार्यक्रम जिल्ला जनगणना समन्वय समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षता एबं जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेवी खत्रीको प्रमुख आथिथ्यतामा आयोजना गरिएको थियो ।
जनगणना अभियान २०७८ अन्तरगत दिक्तेलमा गत चैत ३ गते जिल्ला जनगणना कार्यालय स्थापना गरिएको हो । आगामी बैसाख १ गतेदेखि बैसाख ४ गतेसम्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहनेगरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जनगणना अधिकारी कोईरालाले बताए ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका कार्यक्षेत्र रहनेगरी हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिका कार्यक्षेत्र रहनेगरी खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा तथा रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका कार्यक्षेत्र रहनेगरी रावाबेँसी गाउँपालिकाको कुभिन्डेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिने जनाइएको छ । दुई चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करिब ३६० जनाको हाराहारीमा जनशक्ती परिचालन गरिने कोईरालाले बताए ।
नियुक्त भएका सुपरिवेक्षकले आगामी बैसाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरणको काम गर्ने छन् । यस्तै, गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ । ‘पहिलो चरणमा सुपरिबेक्षकद्धारा प्रत्येक घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका पुरुष, महिलाको संख्य, परिवारको कृषि सम्वन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यवसायीक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सम्वन्धी विवरण संकलन गरिन्छ,’ जनगणना अधिकारी कोईरालाले भने, ‘दोश्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तीको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिन्छ ।’
जिल्ला जनगणना कार्यालयका अनुसार चैत २० गतेसम्ममा सुरपरिबेक्षकको सूची सार्वजनिक गर्ने, चैत १९ गतेदेखि २५ गतेसम्म स्थानीय जनगणना अधिकारी तालिम सञ्चालन गर्ने, चैत २९ र ३० गते स्थानीय जनगणना अधिकारीको नियुक्ती गर्ने, बैसाख १ गतेदेखि ४ गतेको बिचमा स्थानीय जनणनाको कार्यालय स्थापना गर्ने, बैसाख ११ गतेदेखि १५ गतेभित्रमा जनगणना सामग्री स्थानीय तहमा पठाउने, बैसाख १३ गतेदेखि १५ गतेसम्ममा सुपरिवेक्षक नियुक्ती गरी जिम्मेवारी तोक्ने र तालिमको तयारी गर्ने, बैसाख १५ गतेभित्र गणकको प्रारम्भिक सूची सार्वजनिक गर्ने, बैसाख १६ गतेदेखि २२ गतेकोबिचमा सुपरिबेक्षक तालिम आयोजना गर्ने, बैसाख २४ गतेदेखि २५ गतेभित्र सुपरिबेक्षक कार्यक्षेत्रमा पुग्ने, बैसाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरण गर्ने कार्यतालिका तयार गरिएको छ ।
यस्तै, जेठ १० गतेदेखि १४ गतेसम्ममा गणक नियुक्ती तथा जिम्मेवारी तोक्ने, जेठ १७ गतेदेखि २२ गतेसम्म गणकलाई तालिम दिने, जेठ २४ गते गणक कार्यक्षेत्रमा पुग्ने र जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने, जेठ २५ गतेदेखि असार ८ गतेकै अवधिमा गणनाको अनुगमन तथा सुपरिबेक्षणको काम हुने छ ।
असार १५ गतेदेखि २० गतेसममा संकलित फारम रुजु गरी बुझ्ने, असार २३ गतेदेखि २७ गतेसम्ममा कन्ट्रोल फाराम इन्ट्रि गर्ने, असार २८ गतेदेखि ३० गतेभित्र संकलित फारम विभागमा पठाउने र असार असान्तमा जनगणनाको कार्यालय बन्द हुने जिल्ला जनगणना अधिकारी कोईरालाले बताए । २०६८ सालको जनगणना अनुसार खोटाङको जनसंख्य २ लाख ६ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ जना थियो ।