बुधवार, चैत्र १८ २०७७
नेपाल वाइड
खोटाङ । चैत १८, नेकपा एमालेभित्रको गुटगत राजनितीको असर भातृ तथा शुभेच्छुक संगठनमा पनि परेको छ । अहिले नेपाल पत्रकार महासंघको चुनावको मुखमा संगठित भएर लाग्नुपर्ने प्रेस चौतारी नेपाल दुई चिरा परेको छ । संगठन छिन्नभिन्न हुँदा नेपाल समुह चौतारी प्रेस यूनियनको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ भने ओली समुह चौतारी छुट्टै प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएको छ ।
प्रेस चौतारी छिन्नभिन्न अवस्थामा पुर्याउने दुष्कार्यको भागीदार वर्तमान नेतृत्वले लिनुपर्ने प्रेस चौतारीका साधारण सदस्य रत्नप्रसाद आचार्यले बताएका छन् । सुनसरीबाट अन्नपूर्णपोष्टमा कार्यरत पत्रकार आचार्यले चौतारी जोगाइ राख्नु पर्ने अभिमत कुल्चेर अमूक गुटका नाममा गुटगत गतिविधी सञ्चालन गर्दै संगठन विभाजन गर्ने/गराउने नेतृत्वले स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।
संगठन जोगाएर राख्न नसकेको भन्दै आचार्यले सामाजिक सञ्जालबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, बरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष बिश्वमणी सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव राजेश राई, निवर्तमान अध्यक्ष राजेन्द्र अर्यालमाथि प्रश्न गरेका छन् ।
‘नेतृत्वमा रहेर अग्रजहरुले उर्जावान जिन्दगी र इमान्दार कार्यकर्ताहरुको निश्वार्थ योगदानबाट बनेको सुन्दर वर्तमानलाई धुलीसात पार्ने कुत्सित मनसायले सञ्चालन गरिएका विभाजनकारी, अवाञ्छित, अराजक र विधान विपरितका गतिविधीप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ आचार्यले लेखेका छन्, ‘त्यस्ता कार्यको औचित्य के हो, किन देशभरका कार्यकर्ताहरुको राय बिनै कोठे बैठक गरेर संगठन विभाजन गर्ने नियतले जिल्ला तहसम्म समानान्तर कमिटी घोषणा गरिए ? नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा चौतारीले जित्ने सहज अवस्था हुँदाहुँदै संगठन विभाजन गरेर असंगतिपूर्ण गठबन्धन निर्माण गरेर संगठन नै ध्वस्त हुने अपराधपूर्ण कार्य गरेकाले तपाईहरुलाई किन कारवाही नगर्ने ?’ आचार्यले केहीले मेसेञ्जरमा जवाफ दिएको बताएका छन् ।