बुधवार, चैत्र १८ २०७७
नेपाल वाइड
खोटाङ । चैत १७, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा बितलवका मानसिक रोगबाट पिडित मनोज तामाङलाई उपचार खर्च प्रदान गरिएको छ । आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जानबाट बञ्चित बनेका तामाङलाई युवा नेता बाजिन्द्र बिष्टको पहलमा ६७ हजार ७८० रुपैयाँ आर्थिक सहयोग जुटेको हो । कांग्रेस जन्तेढुंगा गाउँपालिका समितिका उप–सभापति बिष्टको पहलमा सहयोग रकम जुटे लगत्तै मनोजलाई मानसिक अस्पताल पाटनतर्फ लगिएको छ ।
विभिन्न अस्पताल चाहारे पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा मनोजलाई घर फर्काएका बुवा बाबुराम तामाङले बिष्टलाई सहयोगका लागि गुहारेका थिए । बाबुरामको आग्रहमा युवा नेता बिष्टले मानसिक समस्याबाट पिडित भएका मनोजको भिडियो खिचेर सहयोग अभियान चलाएका थिए ।
मनोजको उपचार सहयोगार्थ देश विदेशका दाताबाट संकलन भएको उपचार खर्च कांग्रेसका जन्तेढुंगा गाउँपालिका समितिका सभापति प्रेमबहादुर बस्नेतको हातबाट तामाङ परिवारलाई हस्तान्तरण गरिएको अभियान्ता बिष्टले बताए । परिवारका पाँच सन्तानमध्ये मनोज जेठो सन्तान हुन् । २४ वर्ष पुगेका उनी विगत ४ वर्षदेखि मानसिक रोगबाट पिडित छन् ।
मानसिक रोगी मनोजको उपचारका लागि तामाङ परिवारले भर्खरै स्वास्थ्य बीमा पनि गरेका छन् तर अझै तीन महिनापछि मात्र स्वास्थ्य बीमा गरेवापतको सेवा पाइने भएकाले शुभेच्छुकबाट प्राप्त सहयोग लिएर मनोजलाई अस्पताल लगिएको बुवा बाबुरामले बताए । ‘मैले विभिन्न अस्पताल पु¥याएर उपचार गराए पनि सन्चो भएन ।
आर्थिक अवस्थाले उपचार गर्न नसकेपछि सहयोगी खोजी गरेर भए पनि उपचार गर्न सकिन्छ कि भनेर बाजिद्र बिष्टलाई गुहार मागेँ,’ बाबुरामले भने, ‘उहाँ (बाजिन्द्र बिष्ट)ले आएर मनोजको भिडियो बनाएर लैजानु भयो । विभिन्न ठाउँबाट सहयो जुटाइदिनु भयो । र विरामीलाई अस्पतालसम्म लैजाने वातावरण बनेको हो ।’
मनोजको उपचारका लागि तामाङ परिवारले थप सहयोगको याचना गरेका छन् । उनलाई सहयोग गर्नका लागि बाबुराम तामाङको नाममा कृषि बिकास बैंकको खाता नम्बर ११२५२०१८२४६७००१७ मा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।