आइतवार, चैत्र १५ २०७७
नेपाल वाइड
खोटाङ । चैत १५, फरक–फरक स्थानमा भएको आगलागीमा खोटाङमा दुई घर जलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले डाँडाखर्कका रामबहादुर राई र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका दिलकुमार राईको घर जलेको हो । रामबहादुरको घरमा शनिबार बिहान र दिलकुमारको घरमा साँझमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाहले बताए ।
काम गर्न बाहिर गएको अवस्थामा गाईबस्तुका लागि खोले पकाउन बालेको आगोबाट रामबहादुरको घरमा आललागी भएको अनुमान गरिएको छ । तिव्र हावाहुरी चल्दा चित्रामा आगो सल्किएर रामबहादुरको घर जलेको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीमा उनको करिब १२ लाख बराबरको क्षती भएको छ । घट्नाको जानकारी भए लगत्तै प्रहरी सहायक निरीक्षक खेमबहादुर भुजेल नेतृत्वको प्रहरी टोली घट्नास्थल पुगेको थियो । आगलागीबाट उनी पूर्णरुपमा विस्थापित भएका छन् ।
यस्तै, खरको छानो भएको दुई तले घर जल्दा दिलकुमारको ४ लाख ५० हजार बराबरको क्षती भएको छ । सो घरमा स्थानीय मिकुरमान राई श्रीमती र छोरा सहित बस्दै आएका थिए । दिलकुमारको घरमा घरमा आगलागी हुनुको कारण खुलेको छैन । प्रहरीचौकी च्यास्मीटारबाट खटिएका प्रहरीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यसैबिच, खोटाङको तीन वटा सामुदायीक वनमा सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको रातमाटेस्थित लुम्रे सामुदायीक वन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित मेरुङ सामुदायीक वन र केपिलासगढी गाउँपालिका–३ बासपानीस्थित सल्लेरी सामुदायीक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको हो ।
रातमाटेस्थित लुम्रे सामुदायीक वनमा चैत ११ गतेदेखि तथा मेरुङ सामुदायीक वन र सल्लेरी सामुदायीक वनमा चैत १२ गतेदेखि डढेलो सुरु भएको हो । प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास जारी राखे पनि डढेलो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक शाहले बताए ।
ठूलो क्षेत्रमा फैलिएको मेरुङ सामुदायीक वनमा लागेको क्रमशः भोजपुरको सिमानासम्म पुग्ने अनुमान गरिएको छ । यद्यपी, डढेलोबाट घर तथा गोठ जल्ने खतरा भने न्यून रहेको प्रहरीले जनाएको छ । ‘प्रहरी र स्थानीयबासीले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् तर नियन्त्रण प्रयास सफल हुन सकिरहेको छैन,’ प्रहरी निरिक्षक शाहले भने, ‘ढडेलो नियन्त्रण बाहिर गए पनि घर जल्ने खतरा भने देखिएको छैन ।’