शनिवार, चैत्र १४ २०७७
नेपाल वाइड
दाङ । दाङको घोराहीमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जंगल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नम्बर–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।
घटनास्थल पुग्न तीन/चार घण्टाजति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँग हुन नसक्ने हुँदा घटनाबारे थप विवरणहरु आउन बाँकी रहेको पनि प्रहरी उपरीक्षक चन्दले बताए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई राति नै नियन्त्रणमा लिइसकेको बताइएको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।
यसैबीच, भरुवा बन्दुकको गोली लागेर मृत्यु भएका गुरुङको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस