शुक्रवार, चैत्र १३ २०७७
नेपाल वाइड
खोटाङ । चैत १३, खोटाङका प्रदेशसभा सांसद उषाकला राई सामाजिक बिकास मन्त्री नियुक्त भएकी छन् । खोटाङबाट समानुपातिक सांसद बनेकी राई शुक्रबार प्रदेश नम्बर १ को सामाजिक बिकास मन्त्री नियुक्त भएकी हुन् । मूख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद बिस्तार गर्नेक्रममा सांसद राई मन्त्री नियुक्त भएकी हुन् ।
नवनियुक्त मन्त्री राईले शुक्रबार सपथ लिएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी राईले खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास बनाएकी छन् । मन्त्री राईले कोदोको लोकल रक्सीमाथिको व्याण्ड हटाएर ब्राण्ड बनाउने नारा प्रदेश नम्बर १ बाट लागू गर्न कोसिस हुने बिश्वास व्यक्त गरेकी छन् ।
सपथमा उनका श्रीमान पूर्व कानून मन्त्री शेरबहादुर तामाङ समेतको उपस्थिति रहेको थियो । ‘निष्ठापूर्वक काम गर्ने र जनताको नजरबाट गिर्ने काम म बाट नहुने कुरामा विश्वास ब्यक्त गर्दछु,’ मन्त्री राईले फेसबुकमा लेखेकी छन्, ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा प्रदेश नम्बर १ बाट लागु गर्ने कोसिस हुने कुरामा बिस्वास ब्यक्त गर्दछु ।’
सामाजिक बिकास मन्त्री राई, आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबोहाङ, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ, कृषि राज्यमन्त्री कला घले र वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले एकैसाथ सपथ लिएका छन् ।