Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खोटाङमा आगामी बैसाखमा जिल्ला लिग फुटबल

    खोटाङमा आगामी बैसाखमा जिल्ला लिग फुटबल


    • शुक्रवार, चैत्र १३ २०७७

    • नेपाल वाइड


    खोटाङमा आगामी बैसाखमा जिल्ला लिग फुटबल
    फायल तस्बिर ।

    खोटाङ । चैत १३, खोटाङमा आगामी बैसाखमा जिल्ला लिग फुटबल प्रतियोगीता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघको शुक्रबार बसेको बैठकले आगामी बैसाख १० गतेदेखि (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला लिग फुटबल प्रतियोगीताको खेल तालिका आगामी चैत २१ गते सार्वजनिक गरिने जिल्ला फुटबल संघका सदस्य सनम राई (जोजो)ले जानकारी दिए ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको हो । यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राजावासस्थित यलम्बर खेलमैदानमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ ।

    एन्फाको निर्देशिका अनुसार (ए) डिभिजनमा बाक्सिला फुटबल क्लव, खोटाङ फुटबल एकेडेमी, खारम्बु स्पोर्टस् क्लव खार्मी, सोल्मा स्टपोर्टस क्लव सोल्मा, खोटाङ भगवती स्पोर्टस् क्लव खोटाङबजार र हलेसी तुवाचुङ फुटबल क्लवबिच प्रतिष्पर्धा हुने छन् । यस्तै, (बि) डिभिजनमा नमूना स्पोर्टस् क्लव लफ्याङ, बुईपा इलाभेन स्पोर्टस् क्लव बुईपा, नुनथला फुटबल क्लव नुनथला र जन्तेढुंगा फुटबल क्लव जन्तेढुंगाबिचमा प्रतिष्पर्धा हुने जिल्ला फुटबल संघका सदस्य राईले जानकारी दिए ।

    २०७६ सालको लिगमा प्राप्त गरेको अंकको आधारमा जिल्लाका ६ वटा टिम (ए) डिभिजनमा र ४ वटा टिम (बि) डिभिजनमा परेको हो । जिल्ला लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राईको अध्यक्षतामा भएको बैठकमा एन्फाका प्रदेश समिति सदस्य समिर राई लगायतको उपस्थिति रहेको थियो ।

    एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगीता गरेको थियो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो ।

    सम्बन्धित समाचार