शुक्रवार, चैत्र १३ २०७७
नेपाल वाइड
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ । गएको फागुन १४ गते मष्तिष्काघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ । मष्तिष्काघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो ।
भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताएका छन् ।
उनको निधनसँगै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् । सभापति शेरबहादुर देउवाले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।