शुक्रवार, चैत्र १३ २०७७
नेपाल वाइड
काठमाण्डौ । नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन पूर्वअध्यक्षहरू र पूर्वपदाधिकारीहरूले आह्वान गरेका छन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढाइएको पाइएपछि उनीहरूले बिहीबार एक विज्ञप्तिमार्फत् उक्त आह्वान गरेका छन् । पत्रकार महासंघमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्र, प्रदेश, जिल्ला शाखा तथा प्रतिष्ठानहरूमा निर्वाचन हुन लागेको छ । चैत २५ गते एकैदिन महासंघका सबै तहका चुनाव हुनेछ ।
निर्वाचनका लागि मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ताको पूर्वसन्ध्यामा विवाद देखाएर निर्वाचन प्रक्रिया अवरूद्ध गर्न खोजिएको भन्दै पूर्वपदाधिकारीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । कुनै पनि दवाव र प्रभावमा नपरेर निर्वाचन प्रक्रियालाई अवरोध गर्ने कुनै गतिविधि नगर्न र आपसी संवादका माध्यमबाट सदस्यता सम्बन्धी विवाद छिटो हल गर्न महासंघ नेतृत्वको पूर्वपदाधिकारीले ध्यानाकर्षण गरेका छन् ।
पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पूर्वमहासचिवहरू ओम शर्मा, पोषण केसी, रामजी दाहाल, पूर्वकोषाध्यक्ष तेजप्रकाश पण्डित, केन्द्रीय सल्लाहकार शिव लम्साल, प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल र प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले हस्ताक्षर गरेर समयमै निर्वाचन प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन् ।
महासंघले अन्तिम नामावली प्रकाशन चैत १३ गते ५ बजेभित्र, उम्मेदवारी मनोनयन चैत १४ गते बिहान १० बजेदेखि ३ बजेसम्म गर्ने गरी निर्वाचन कार्यक्रम अद्यावधिक गरेको जानकारी दिएको छ ।