बिहिवार, चैत्र १२ २०७७
योगीन राई
खोटाङ । चैत १२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा निर्माणाधिन खेलमैदानको डिपिआरको काम सुरु गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयबाट विनियोजन गरिएको ४ लाख ५० बाट निर्माण सुरु गरिएको पदमध्वज राई खेलमैदानलाई स्टेडियम सहितको सुविधा सम्पन्न बनाउनका लागि डिपिआरको काम सुरु गरिएको हो ।
निःशुल्क प्राप्त भएको २५ रोपनी क्षेत्रफलभित्र १२० मिटर लम्बाई र ८० मिटर चौंडाई भएको व्यवस्थित बहुउद्धेश्यीय खेलमैदान निर्माणका लागि बुधबारदेखि डिपिआरको काम सुरु गरिएको बाम्राङ युवा क्लवका अध्यक्ष किर्तमान राईले बताए । आगामी बैसाखसम्ममा सम्पन्न गर्नेगरी इनोभेटिभ बिल्डर्सले बुधबारदेखि खेलमैदानको डिपिआरको काम सुरु गरेको हो ।
स्थानीय स्वर्गीय पदमध्वज राईको परिवारले खेलकुद विकास समिति बाम्राङलाई २५ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएपछि खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि थप जग्गा जुटाउन वडाध्यक्ष ललितकुमार राईको उपस्थितिमा दिलबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरिएको छ ।
खेलकुदको व्यवसायीक बिकासमा टेवा पुर्याउने लक्ष्यका साथ स्थानीयको सहकार्यमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु गरिएको बाम्राङ युवा क्लबका अध्यक्ष राईले बताए । आफ्नो गाउँमा खेलमैदान निर्माणकाक्रममा स्थानीयले पनि २ लाख बराबरको श्रमदान गरिसकेका छन् । कोभिड–१९ को महामारीका कारण शिलान्यास नै नगरी खेलमैदान निर्माणको काम थालिएको थियो । साविकको सदरमुकामसँग जोडिएको बाम्राङमा खेलमैदानको आवश्यकता परेको तथा वडाबासीको मागलाई ध्यानमा राखेर खेलमैदान निर्माणको काम सुरु गरिएको वडाध्यक्ष राईले बताए ।
पछिल्लो समय वडा–वडामा खेलमैदान निर्माण गर्ने हाड चलिरहेकाबेला बाम्राङमा पनि खेलमैदान निर्माणको काम सुरु गरिएको हो । खेलमैदान निर्माणको काम सकिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि सहज हुने दाबी गरिएको छ । खेलमैदानका लागि पदमध्वजको स्मृतिमा श्रीमती कृष्णकुमारी, छोराहरु अयन, बैज, केजिन, ज्ञानिन, मनिन, शैलेन्द्र र सौराज राईले निःशुल्क जग्गा उपलव्ध गराएका हुन् ।