बिहिवार, चैत्र १२ २०७७
नेपाल वाइड
खोटाङ । चैत १२, खोटाङमा जंगलमा लागेको डढेलो गाउँ पस्दा लगातार दोश्रो दिन एक घर जलेको छ । स्थानीय रानी सामुदायीक वनमा लागेको डढेलोले केपिलासगढी गाउँपालिका–३ बासपानी पोखरीका पदबहादुर खड्काको घर जलेको हो । जंगलबाट गाउँ पसेको डढेलोले बिहिबार खड्काको घर र मतान जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । खड्काको घरमा भएका अन्न, भाँडावर्तन लगायत जोगाउन नसकिएको स्थानीयले बताएका छन् ।
यस्तै, डढेलोले सोही स्थानका कुलबहादुर खड्काको पराल र नल जलेको स्थानीय धनकुमार खड्काले बताए । साविकको बासपानी–१ र ३ मा करिब २७ हेक्टरमा फैलिएको रानी सामुदायीक वनमा लागेको अधिकांश क्षेत्र डढेलोले खाइसकेको छ । बासपानीकै सल्लेरी सामुदायीक वनमा पनि डढेलो लागेको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।
डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली घट्नास्थल पुगेको छ । जंगल नजिक घर भएका स्थानीय अहिले घर जोगाउन सजगता अपनाएर बसिरहेको खड्काले बताए । सामुदायीक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित बसेरीका तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको थियो ।
डढेलोले सहकारीबाट एक लाख ७० हजार अनुदान लिएर बनाएको भुजेलको बाख्रा फर्म समेत खरानी भएको छ । आगोबाट घर जोगाउनका लागि छानामा पानी छ्याप्नेक्रममा लडेर स्थानीय मोहन बिश्वकर्माको हात भाँचिएको प्रहरीले जनाएको छ । सुक्खा मौसम सुरु भएसँगै जिल्लाका विभिन्न ठाउँका वनमा डढेलो लागिरहेको छ ।
जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटास्थित देउराली चुनियापानी सामुदायीक वनमा लागेको डढेलो प्रहरी र स्थानीयबासीले बुधबार साँझ नियन्त्रणमा लिएका छन् । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित कोप्चे र मेरुङ सामुदायीक वनमा बुधबारदेखि डढेलो सुरु भएको छ ।