बिहिवार, चैत्र १२ २०७७
नेपाल वाइड
खोटाङ । चैत १२, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका पुर्व युके लाहुरे टंकबहादुर राईलाई अभिनन्दन गरिएको छ । गाउँठाउँको विकास निर्माणका लागि योगदान पुर्याएकामा राईलाई स्थानीयबासीले अभिनन्दन गरेका हुन् । पुर्व जिविस ईलाका सदस्य समेत रहेका राईलाई समाजसेवीकारुपमा चिसापानीको छेतुवा घोरेडाँडास्थित पृथ्वी आधारभुत बिद्यालयको आयोजनामा अभिनन्दन गरिएको हो ।
नेपाली कांग्रेसका जन्तेढुंगा गाउँपालिका समितिका सभापति प्रेमबहादुर बस्नेत, कांग्रेसका युवा नेता बाजिन्द्र बिष्ट, विव्यास अध्यक्ष सुक्रिम राई लगायतको उपस्थितिमा समाजसेवी राईलाई अभिनन्दन गरिएको हो । पृथ्वी आधारभुत बिद्यालयमा २०६९ सालमा ४ लाखमा सरस्वतीको मन्दिर तथा मुर्ती निर्माण गरिदिएका राईले यस पल्ट २ लाख २६ हजार ४१० मा मन्दिर परिषरमा पर्खाल निर्माण गरिदिएका छन् ।
द्वन्दकाल पछि धेरैजसो समय बेलायतमै विताउने गरेका ८० वर्षीय राईले गाउँ आएकोबेला केही न केही सामाजिक काम गरेर फर्कने गरेका छन् । बेलायतमा बसिरहेको अवस्थामा पनि राईले खोटाङमा हुने विभिन्न कार्यक्रमका लागि आफ्नो र स्वर्गीय श्रीमती प्यारीमायाँ राईको नामबाट पुरस्कार प्रायोजन, छात्रबृत्ति प्रदान गर्नेदेखि बिरामीलाई सहयोग गर्ने मानवसेवाको काम गर्दैआएका छन् । उनले यस वर्ष गाउँका युवालाई लक्ष्यीत गर्दै खेलमैदान निर्माण गरिदिने बताएका छन् ।
जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवामा विक्रम संवत १९९७ सालमा जन्मिएका राईले चिसापानी मािबको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । विगतमा विभिन्न स्थानमा खानेपानी, पुल, बिद्यालय, प्रतिक्षालय, मन्दिर निर्माण लगायतका काममा पनि राईले अगुवाईको भूमीका निर्वाह गरेका थिए । कार्यक्रममा युवा नेता बिष्टले समाजसेवी राईको योगदानको चर्चा गर्दै नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताए ।