आइतवार, चैत्र ८ २०७७
नेपाल वाइड
खोटाङ । चैत ८, खोटाङको दिक्तेलमा जारी जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बाहुनीडाँडा फुटबल क्लव र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित युवा जागरण स्पोर्टस् क्लव फाईनलमा पुगेको छ । आइतबार दिक्तेलको माटिकोरे खेलमैदानमा भएको सेमीफाईनल खेलमा आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)लाई शुन्यका बिरुद्ध १ गोल गर्दै बाहुनीडाँडा फुटबल क्लवले फाईनलको यात्रा तय गरेको हो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित नेर्पा स्पोर्टस् क्लवलाई शुन्यका बिरुद्ध १ गोल गर्दै युवा जागरण स्पोर्टस् क्लव फाईनल प्रवेश गरेको हो । बाहुनीडाँडा फुटबल क्लवका लागि जर्सी नम्बर १० का खेलाडी सुजन माझीले र युवा जागरण स्पोर्टस् क्लवका लागि जर्सी नम्बर १० का खेलाडी प्रशान्त राईले गोल गरेका थिए ।
बाहुनीडाँडा फुटबल क्लव र खोटाङ फुटबल एकेडेमीकोबिचमा भएको खेलमा बाहुनीडाँडाका सुजन माझी तथा युवा जागरण स्पोर्टस् क्लव र नेर्पा स्पोर्टस् क्लवबिच भएको खेलमा युवा जागरणका गोल रक्षक नविन पोखरेल मेन अफ द म्याच घोषित भएका छन् । प्रतियोगीतामा आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए) र नेर्पा स्पोर्टस् क्लव सेमीफाईनलिष्ट बनेको छ । फाईनल खेल सोमबार दिउँसो साँढे १२ बजेपछि हुने आयोजक खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए ।
एकेडेमीले ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ सहयोग उठाएरै जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको आयोजना गरेको हो । प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीले जनाएको छ ।
यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष सैजुले बताए । प्रतियोगीतामा जिल्लाका १३ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगीताको फाईनल खेल अघि पत्रकार र आयोजक भेट्रान टिम बिच मैत्रीपूर्ण खेल हुने छ । अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको टिमलाई मात्र सहभागी गराइएको छ । प्रतियोगीता अखिल नेपाल फुटवल संघ ‐एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले गत बुधबार उद्घाटन गरेका थिए ।
प्रतियोगीता उद्घाटनका क्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिं, चर्चित फुटबलर हरि खड्का लगायतको उपस्थिति रहेको थियो ।
‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण आयोजना गरेको थियो ।