बुधवार, चैत्र ४ २०७७
नेपाल वाइड
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । बुधबारबाट ललितपुरको सानेमामा शुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेश गरिएको हो ।
भेलामा सम्बोधन गर्दै वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दी शुरू गरेको आरोप लगाए । खनालले भने, ‘पार्टीसँग सल्लाहबिना उहाँ अघि बढ्नु भयो । निर्वाचन घोषणा पत्रमा देशसामु गरेका कुनै पनि प्रतिवद्धतालाई केपी ओली सरकारले लागू गर्न सकेन । निर्वाचनको प्रतिवद्धता अनुसार बजेट लागु गर्न पनि सक्नु भएन । पार्टीका विचार र भावनालाई लागु गर्न सक्नु भएन ।’
नेता खनालले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि आरोप लगाए । उनले भने, ‘ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने कुरा अगाडि सारे । तीन चार सयभन्दा मानिसहरु विभिन्न तहमा नियुक्त भए । पार्टीले भनेका र योग्य मानिसहरु क्षमतावान मानिसहरु नियुक्ति गरिएन । आफ्ना धुपौरेहरुलाई नियुक्ति गरे । जनताले समेत केपी ओलीलाई दुत्कारे ।’
यसैगरी वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको भेला गुटगट नभइ अध्यक्ष केपी शर्मा ओलीबाट सिर्जित समस्या भएको बताए । नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।
नेकपा हुँदा चर्चामा रहेको ‘साइबर स्याल’हरु अहिले एमाले भएपछि पनि रहेको भन्दै फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप उनले लगाए । अहिलेको लडाईं पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको भएको बताए ।
ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए । नेता नेपालले भने, ‘तपाइँहरु पनि पीडित, हामी पनि पीडत, आज पीडित पीडित एक ठाउमा भेला भएका छौँ ।’ भेला भोलिसम्म चल्नेछ ।