मंगलवार, चैत्र ३ २०७७
नेपाल वाइड
खोटाङ । चैत ३, खोटाङमा राष्ट्रिय परिचयपत्र वितरणका लागि हालसम्म ३३ हजार बढिको विवरण दर्ताको काम पुरा भएको छ । राष्ट्रिय परिचय पत्र वितरणका लागि हालसम्म जिल्लाका नेपाली नागरिकता प्राप्त गरेका ३३ हजार ७५० जनाको विवरण संकलन गरिसकिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एबं सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले बताउनुभयो । तीन स्थानीय तहमा गत माघ १५ गतेदेखि सञ्चालन गरिएको दर्ता स्टेशनबाट हालसम्म २९ हजार ५३० जनाको विवरण दर्ता गरिसकिएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण दर्ता (स्टेशन)बाट गत साउन १ गतेदेखि हालसम्म ४ हजार २२० जनाको विवरण संकलनको काम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत माघ १५ गतेदेखि फागुन ५ गतेसम्म रावाबेँसी गाउँपालिकामा सञ्चालन गरिएको स्टेशनबाट ५ हजार ५८ जनाको विवरण संकलन गरिएको छ ।
यस्तै, माघ १९ गतेदेखि फागुन १९ गतेसम्म हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन गरिएको स्टेशनबाट १० हजार ७२० जना र गत फागुन ९ गतेदेखि फागुन २५ गतेसम्म ऐसेलुखर्कमा सञ्चालन गरिएको स्टेशनबाट ६ हजार ४३८ जनाको विवरण दर्ता गरिएको छ ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फागुन २० गतेदेखि र केपिलासगढी गाउँपालिकामा फागुन २९ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण दर्ताको काम भइरहेको छ ।

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ हजार ८४७ जना र केपिलासगढी गाउँपालिकाका ४६७ जनाको विवरण दर्ता भइसकेको छ । यसपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण दर्ता स्टेशन सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।