Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    शसस्त्र द्धन्द्धको समयमा हत्या गरिएका नेताको स्मृतिमा कांग्रेसले भवन बनाउने

    शसस्त्र द्धन्द्धको समयमा हत्या गरिएका नेताको स्मृतिमा कांग्रेसले भवन बनाउने

    कालुमान गुरुङ–नविनचन्द्र राई स्मृति भवन निर्माणका लागि सिजन राईको नेतृत्वमा ६ सदस्यीय निर्माण समिति बनाउने निर्णय

    • आइतवार, चैत्र १ २०७७

    • नेपाल वाइड


    शसस्त्र द्धन्द्धको समयमा हत्या गरिएका नेताको स्मृतिमा कांग्रेसले भवन बनाउने
    साकेला गाउँ पालिका कार्य समितिको बैठकपछि सामुहिक तस्बिर खिचाउँदै क्षेत्रीय सभापति तीर्थराज भट्टराई, जग्गादाता बलराम राई लगायत

    खोटाङ । चैत १, नेपाली कांग्रेस साकेला गाउँ पालिका कार्य समिति खोटाङले शसस्त्र द्धन्द्धको समयमा राज्य तथा बिद्रोही पक्षबाट हत्या गरिएका नेताको स्मृतिमा भवन बनाउने भएको छ । कांग्रेसले २०५७ साल फागुन १३ गते विद्रोही पक्षबाट गोली हानी हत्या गरिएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका कालुमान गुरुङ र २०५९ साल बैसाख १४ गते राज्यपक्षबाट लब्से खोलामा हत्या गरिएका साकेला गाउँपालिका–२ रतन्छाका नबिनचन्द्र राईको स्मृतिमा भवन बनाउने निर्णय गरेको हो ।

    साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङका स्थानीय बलराम राईले मात्तिम मानेभञ्ज्याङमा करिब २५ लाख मूल्याको एक रोपनी जग्गा निःशुल्क उपलव्ध गराएपछि पार्टी कार्यालयको रुपमा उपयोग गर्ने गरी शहिद कालुमान गुरुङ–नविनचन्द्र राई स्मृति भवन निर्माण गर्न लागिएको कांग्रेसले जनाएको छ ।

    कांग्रेसको साकेला गाउँ पालिका कार्य समितिको शनिबार बसेको बैठकले कालुमान गुरुङ–नविनचन्द्र राई स्मृति भवन निर्माणका लागि सिजन राईको नेतृत्वमा ६ सदस्यीय निर्माण समिति बनाउने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, कांग्रेस महासमिति सदस्य रविप्रकाश राई र इच्छु राना रहेको तीन सदस्यीय सल्लाहकार समिति तथा कृष्णप्रसाद भट्टराई, सरिता खड्का र विजय गुरुङ (भलकाजी ) रहेको अनुगमन समिति गठन गरिएको कांग्रेसका पालिका सचिव योगेश गुरुङले बताए ।

    दिक्तेलस्थित पार्टी कार्यालयको प्रांगणमा स्वबियुको निर्वाचनका बिषयमा छलफल गरिरहेको अवस्थामा गुरुङलाई गोली हानिएको थियो । गोली लागेको केही समयपछि नै गुरुङको मृत्यु भएको थियो । उनलाई नेपाल सरकारले शहीद घोषणा गरिसकेको छ ।

    यस्तै, लब्से खोलाको दोभानमा माछा मारिरहेको अवस्थामा राज्यपक्षबाट घेरा हालेर नविनचन्द्र सहित सात जनाको हत्या गरिएको थियो । २०४९ सालमा कांग्रेसबाट साविकको रतन्छा–५ का वडाध्यक्षमा निर्वाचित नविनचन्द्र भलिवलका राष्ट्रिय खेलाडी समेत थिए ।

    कांग्रेस साकेला गाउँ पालिका कार्य समितिको बैठकले संगठनलाई चुस्त र दुरुस्त बनाउन यथाशिघ्र गतिविधि बढाउने, दुई पटक कांग्रेसको गाउँ पार्टी सभापति बनेका खिदिमाका स्वर्गीय श्रीमान राईको योगदानको उच्च सम्मान गर्दै शोक प्रस्ताव पारित गर्ने लगायतका निर्णय गरेको छ । ताराकुमार खड्काको सभापतित्वमा बसेको बैठकमा क्षेत्रीय सभापति तीर्थराज भट्टराईको विशेष उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार