Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सर्वोच्चको आदेशपछि संसद अनिर्णयको बन्दी बन्यो : डा. शेखर कोईराला

    सर्वोच्चको आदेशपछि संसद अनिर्णयको बन्दी बन्यो : डा. शेखर कोईराला

    विप्लव र रेशम चौधरीलाई सत्ता साझेदारीको ‘टुल्स’ बनाइनु गलत भएको धारणा

    • शनिवार, फाल्गुण २९ २०७७

    • नेपाल वाइड


    सर्वोच्चको आदेशपछि संसद अनिर्णयको बन्दी बन्यो : डा. शेखर कोईराला
    हलेसी परिषरमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला । तस्बिर : नेपालवाइड

    खोटाङ । फागुन २९, नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले वर्तमान संसद अनिर्णयको बन्दी बनेको बताएका छन् । प्रेस यूनियन खोटाङले शनिबार त्रि–धार्मिकस्थल हलेसी परिषरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. कोईरालाले सर्वोच्च अदालतले संसद पुःर्नस्थापना गरे पनि हालसम्म संसद चल्न नसक्दा अनिर्णयको बन्दी बन्न पुगेको बताएका हुन् ।

    सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्रलाई व्यूँताएपछि मुलुकमा झनै जटिलता थपिएको डा. कोईरालाले बताएका छन् । ‘फागुन ११ गते संसद पुःर्नस्थाना भयो । फागुन २३ गते संसदको पहिलो बैठक राखियो । त्यो बैठकमा जुन दृश्य देखियो, त्यो दृश्याले संसद अनिर्णयको बन्दी बन्यो भन्ने देखाउँछ ।

    संसद अनिर्णयको बन्दी बनिसकेपछि सरकारको औचित्य रहँदैन,’ डा. कोईरालाले भने, ‘सर्वोच्चको दोश्रो निर्णयले त झनै अप्ठ्यारो परिस्थिति सिर्जना गरिदियो, जटिलता थपिदियो । नेकपा एमाले र माओबादी केन्द्रलाई पुर्ववत स्थानमा फर्कनु भनिदियो । एउटै पार्टी बनेर अघि जाने हो भने निर्वाचन आयोगमा दल दर्ता गराउनु भन्यो । सर्वोच्चले आफ्नो निर्णय दियो तर निर्वाचन आयोग नै अनिर्णयको बन्दी बन्यो । आयोगले पहिल्यै निर्णय दिन सकेको भए शायद सवोच्चले यस्तो निर्णय गर्दैनथे होला ।’

    डा. कोईरालाले मुलुकमा देखिएको वर्तमान समस्याको निकास निर्वाचन मात्र भएको दाबी गरेका छन् । निर्वाचन नभए देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुने र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलखेल बढ्नसक्ने भएकाले सकेसम्म चाँडो निर्वाचनमा जानुपर्ने डा. कोईरालाको भनाई थियो ।

    ‘अव देशलाई निकास दिन र संसद चल्नका लागि हामीसित निर्वाचन बाहेक अर्को निकास छैन । निकासको निम्ति निर्वाचन चाहिन्छ । नत्र संसद चल्दैन । संसदमा हंगामा भइरहन्छ र देश अप्ठ्यारो परिस्थितिमा जान सक्छ । अप्ठ्यारो परिस्थितिमा देश जाँदा राष्ट्रिय र अन्र्तराष्ट्रिय चलखेल बढ्न सक्छ,’ कोईरालाले भने, ‘अवको निकासको बाटो भनेको निर्वाचन नै हो । तर, त्यो निर्वाचन बहुमतको सरकारले गर्न सक्दैन भन्ने नजिर बसिसक्यो । त्यसका लागि अल्पमतको सरकार आवश्यक छ । त्यतातिर कांग्रेसले पहल गर्नुपर्छ ।’

    डा. कोईरालाले विप्लव र रेशम चौधरीलाई सत्ता साझेदारीको ‘टुल्स’ बनाइनु गलत भएको धारणा राखेका छन् । ‘बडा विचित्र छ यो देश । विप्लवलाई नेकपामा ल्याइयो, कति ठाउँमा त ताण्डव नृत्य देखाइयो । त्यो सही, रेशम चौधरी गलत भन्ने हुँदैन । विप्लव पनि गलत हो, रेशम चौधरी पनि गलत हो,’ कोईरालाले भने, ‘राजनीतिमा कसलाई ल्याउँदा देशको अभिष्ट पुरा हुन्छ त्यो इम्पोटेन्ट कुरा हो । कसलाई ल्याउँदाखेरी देशलाई फाईदा हुन्छ भन्नेमा हाम्रो ध्यान गएको छैन ।’

    नेकपा माओबादी केन्द्रले समर्थन फिर्ता नगरेसम्म वर्तमान सरकार कायम रहने उल्लेख गर्दै कोईरालाले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताए । कोईरालाले कांग्रेसको महाधिबेसनमा सभापतिमा उम्मेद्वारी दिने तयारी गरिरहेको जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार