बुधवार, फाल्गुण २६ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिवा खाजा कार्यक्रम सुरु गरेको छ । पठन–पाठनका लागि विद्यार्थीलाई कक्षामा नियमित उपस्थित गराउने वातावरण बनाउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविबाट दिवा खाजा कार्यक्रम सुरु गरिएको हो ।
संघीय सरकारको सशर्त वजेट अन्तर्गत बुधबार नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले विद्यार्थीका अभिभावकलाई दिवा खाजा वापतको रकम प्रदान गर्दै कार्यक्रम प्रारम्भ गरेका हुन् ।
कालिका माबिबाट सुरु गरिएको दिवा खाजा कार्यक्रम क्रमशः नगरपालिकाका १५ वटै वडाका ९३ सामुदायीक विद्यालयमा लागू हुने मेयर रिजालले बताए ।

दिवा खाजा कार्यक्रमबाट वालविकासदेखि कक्षा ५ सम्मका ५ हजार ४७८ विद्यार्थी लाभान्वित हुने नगरपालिकाले जनाएको छ । दिवा खाजा वापत दैनिक प्रतिविद्यार्थी १५ रुपैयाँ प्रदान उपलव्ध गराइने नगरपालिकाले जनाएको छ । दिवा खाजा वापत प्राप्त हुने रकमले गाउँघरमा उपलव्ध हुने अर्गानिक खानेकुरा जुटाएर विद्यार्थीलाई खाजाको रुपमा पठाउनुपर्ने मेयर रिजालले बताए ।
विद्यालयमा हरेक विद्यार्थीको नियमित उपस्थितिका लागि सरकारले दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । विद्यार्थीले विदाको दिन भने दिवा खाजा नपाउने नगरपालिकाले जनाएको छ । खाजाकै कारण टिफिन लगत्तै विद्यालय छाड्ने विद्यार्थीको संख्या घटाउँदै हरेक नागरिकलाई साक्षर बनाउने लक्ष्यका साथ खाजा कार्याक्रम लागू गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक तिर्थ बिश्वकर्माले बताए । दिवा खाजा कार्यक्रम कार्यान्वयनकाक्रममा दिक्तेल रुपाकोट नगरपालिकाले विद्यार्थीलाई टिफिन क्यारी पनि वितरण सुरु गरेको छ ।