मंगलवार, फाल्गुण २५ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २५, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खोटाङको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । साविकको एमाले र माओबादी केन्द्रको एकीकरण लगत्तै राखिएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि मंगलबार एमालेका नेता तथा कार्यकर्ताले पुष्पलाल स्मृति भवनमा एमालेकै बोर्ड झुण्ड्याएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भवनगैरास्थित कार्यालयमा एमाले नेता हरि पोखरेल, बबी चाम्लिङ, रामप्रसाद दंगाल, कुमार आचार्य, दिपनारायण रिजाल लगायतको उपस्थितिमा एमालेको बोर्ड राखिएको हो । नेकपाभित्रको अन्तर संघर्ष चुलिँदै जाँदा अन्ततः साविकको एमाले पार्टी कार्यालयमा एमालेकै बोर्ड झुण्डिन पुगेको हो ।
संसद विघटनपछि बन्द रहेको पुष्पलाल स्मृति भवन सर्वोच्चको फैसला आएकै दिन फागुन २३ गते खोलिएको थियो । सर्वोच्च अदालतले ऋषिराम कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दिएपछि एमाले र माओबादी केन्द्र पुरानै ठाउँमा फर्किन बाध्य बनेको हो ।
सर्वोच्चको निर्णयले एमाले व्यूँतिएपछि खोटाङमा एमालेको अध्यक्षमा रामप्रसाद दंगाललाई चयन गरिएको सार्वजनिक गरिएको छ ।साविकको एमालेको २०७२ साल बैसाख १३ गते सम्पन्न छैठौं जिल्ला अधिबेसनबाट उपाध्यक्षमा चुनिएका दंगाललाई एमालेको बोर्ड राखे लगत्तै अध्यक्षमा चयन गरेको जनाइएको छ । छैठौं अधिबेसनबाट एमाले अध्यक्षमा बबी चाम्लिङ चुनिएका थिए । सर्वोच्चले एमालेलाई व्यूँताएकाले एमालेको तत्कालिन अध्यक्ष स्वतः आफु कायम रहने चाम्लिङले दावी गरेका छन् ।
यसले एमालेको जिल्ला अध्यक्ष को हुने भन्ने विषय पेचिलो बनेको छ । नेकपाको जिल्ला कमिटि बनाउनेक्रममा साविकको एमालेको भागमा सचिव परेपछि तत्कालिन अध्यक्ष चाम्लिङले समन्वय समिति प्रमुख रहेको कारण देखाउँदै दंगाललाई सचिव पद छाडेका थिए । ‘सर्वोच्चले एमालेलाई यथावतरुपमा व्यूँताएको हो,’ चाम्लिङले भने, ‘छैठौं जिल्ला अधिबेसन पछि कुनै पनि अधिबेसन भएको छैन । मैले राजीनामा पनि दिएको छैन ।’