सोमवार, फाल्गुण २४ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २४, रक्षा सचिव रेश्मीराज पाण्डेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको ‘रक गार्डेन’ भ्रमण गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा दर्शन गरेपछि पाण्डेले ककनीडाँडामा रहेको ‘रक गार्डेन’ घुमफिर गरेका हुन् । रक्षा सचिव पाण्डेले आफ्नो ३७ औं बैवाहिक वर्षगाँठ पनि ‘रक गार्डेन’मै मनाएका छन् ।
शनिबार हलेसीमा दर्शन गरेपछि ‘रक गार्डेन’मा पुगेका रक्षा सचिव पाण्डेले हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईलाई पनि बोलाएका थिए । ‘हलेसीमा दर्शन गरेपछि रक्षा सचिव ‘रक गार्डेन’मा पुग्नु भएछ, उहाँले मलाई त्यही बोलाउनु भयो,’ मेयर राईले भने, ‘म पनि १५/२० मिनेटपछि ‘रक गार्डेन’ पुगेँ । उहाँले बैवाहिक वर्ष गाँठ त्यही केक काटेर मनाउनु भयो ।’

रक्षा सचिव रेश्मीराज पाण्डेलाई रक गार्डेन घुमाउँदै मेयर इवन राई
हलेसीमा दर्शन गरेका रक्षा सचिव पाण्डे हलेसी आसपासमा भएका घुम्न लायक ठाउँको बारेमा खोधखोज गर्नेक्रममा नेपाली सेनाका जर साव, कर साव सहित ‘रक गार्डेन’ पुगेका थिए । कडा चट्टान नै चट्टानले ढाकिएको ककनीडाँडालाई नगरपालिकाले ‘रक गार्डेन’का विकास गर्ने लक्ष्यकासाथ आवश्यक संरचना निर्माणको काम थालेपछि पछिल्लो समय सो स्थानमा आन्तरिक तथा वाह्य पर्यटकको भीड लाग्न थालेको छ । हलेसी आएका दर्शनार्थी एवं पर्यटक घुमफिरका लागि ‘रक गार्डेन’ पुग्न थालेका छन् ।
‘रक गार्डेन’ निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले बिनियोजन गरेको ४० लाखको खर्चमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमतर्फबाट सिमेन्टेड पर्खालमाथि स्टीलको रेलिङ राखेर करिब पाँच सय मिटर लामो घेराबारा हाल्न सुरु गरिएको छ ।

त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनीडाँडालाई पर्यटकीय क्षेत्रकारुपमा बिकास गर्दै आर्थिक श्रोतको माध्यमकारुपमा बिकास गर्ने लक्ष्यकासाथ नगरपालिकाले ‘चुरेडाँडा रक गार्डेन’को योजना अघि सारेको हो । क्रमागत योजनाकारुपमा करिब साँढे पाँच करोडमा सम्पन्न हुने ‘रक गार्डेन’ आयोजना २०७७ साल गत जेठ २५ गते मेयर राई र उपमेयर बिमला राईले शिलान्यास गरेका थिए ।