आइतवार, फाल्गुण २३ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २३, खोटाङमा कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका स्थानीयलाई कोभिशिल्ड खोप दिन सुरु गरिएको छ । दोश्रो प्राथमिकतामा परेकामध्ये पनि ६५ वर्षमाथिका व्यक्ती, दीर्घ रोग भएका तथा पहिलो चरणमा छुट भएका लक्षित समुहलाई प्राथमिकता दिएर आईतबारदेखि खोप दिन सुरु गरिएको हो ।
जिल्लाका १० स्थानीय तहमध्ये तीन दिनभित्र ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका लक्षित समुहलाई खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका लक्षित समुहलाई आगामी चैत २ गतेदेखि चैत ८ गतेभित्र खोप दिने तयारी गरिएको छ ।
दोश्रो प्राथमिकतामा परेकामध्ये १० हजार ११४ जनालाई फागुन २३ गतेदेखि चैत ८ गतेको अवधिमा कोभिशिल्ड खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । दोश्रो प्राथमिकतामा परेका करिब ५० हजारलाई खोप दिने तयारी भइरहेको भए पनि खोपको अभावमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६५ वर्षमाथिका व्यक्ती र दीर्घ रोग भएका व्यक्तीलाई मात्र प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ ।
पहिलो प्राथमिकताका लक्षीत समुहलाई जिल्ला अस्पताल दिक्तेल, प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र स्वास्थ्यचौकी खोटाङबजारबाट कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरिएकामा दोश्रो प्राथमिकताका लक्षित समुहलाई भने ७९ वडाका स्वास्थ्यसंस्थाबाटै खोप दिने तयारी गरिएको छ । कोभिशिल्ड खोपका लागि हरेक स्वास्थ्य संस्थामा तीन/तीन दिन शिबिरको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
५५ वर्षदेखि ७४ वर्ष, ४० वर्षदेखि ५४ वर्ष उमेर समुहमध्ये क्यान्सर, मुटु तथा मिर्गौला जस्ता दीर्घ रोग भएका व्यक्ती, दीर्घ रोग भएका अन्य व्यक्ती, वैदेसिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोग भएका व्यक्तीलाई दोश्रो प्राथमिकताको लक्षित समुहका रुपमा खोप दिने सरकारको तयारी छ ।
पहिलो प्राथमिकतामा परेका जिल्लाका लक्षित समुहका १ हजार ७४० जनालाई खोप दिइएकामा पुःन दोश्रो प्राथमिकतामा परेका करिब ५० हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ । पहिलो प्राथमिकतामा परेका लक्षित समुहलाई गत माघ १५ गतेदेखि २४ गते र फागुन २ गतेदेखि ११ गतेभित्र दुई चरणमा कोभिशिल्ड खोप दिइएको थियो । स्वास्थ्यकर्मीका अनुसार खोप लगाइएकामध्ये कतिपयलाई थकान हुने, ज्वरो आउने, टाउको, जिउ दुख्ने लगायतका समस्या देखिने गरेको छ ।