आइतवार, फाल्गुण २३ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २३, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले तावा खोला पक्की पुलको काम तत्काल सुरु गर्न ठेकेदारलाई निर्देशन दिएका छन् । गाउँपालिका अध्यक्ष राईले महिनौंदेखि ठप्प रहेको साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने मोटरेबल पुलको काम तत्काल सुरु गर्न ठेकेदारलाई निर्देशन दिएका हुन् ।
१८ महिनाभित्र पुरा गर्नेगरी २०७५ साल बैसाख २१ गते सम्झौता गरिएको ५० मिटर लम्बाई भएको पुलको काममा चरम ढिलासुस्ती भएपछि गाउँपालिका अध्यक्ष राईले चासो देखाएका हुन् । गाउँपालिका अध्यक्ष राईले नेशनल महाबीर सिद्धिसाई जेभी पुरानो बानेश्वर, काठ्माण्डौंका प्रतिनिधि कर्ण खत्रीलाई निर्माणस्थलमै बोलाएर पुलको अवरुद्ध काम सुचारु गर्न निर्देशन दिएको बताए ।
‘जता हेर्यो भताभुङ्ग, बेथिति र ढिलासुस्ती मात्र देखिन्छ । खुन उम्लिएर आउँछ, शरीर तातेर सीमा नाघ्न खोजे पनि सम्हालिन बाध्य छु,’ गाउँपालिका अध्यक्ष राईले फेसबुकमा लेखेका छन्, ‘पुल निर्माण व्यवसायी कर्ण खत्रीलाई निर्माणस्थलमा बोलाएर स्थगित पुल तत्काल सुरु गर्न र समयसिमाभित्र निर्माण गर्न निर्देशन दिएको छु ।’
स्थानीय पुर्वाधार विभाग (डोली) को ४ करोड ५१ लाख ३५ हजार (भ्याट सहित) मा पूरा गर्नेगरी पुलको काम नेशनल महाबीर सिद्धिसाई जेभीले लिएको हो । पुल निर्माणका लागि निर्माण कम्पनीले २०७५ साल असार ३१ गते ४० लाख पेश्की लिइसकेका छन् । फागुन ४ गते निर्माणस्थलमै बोलाइएका निर्माण व्यवसायी खत्रीले आगामी जेठसम्ममा पुलको काम पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्लाकै विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने पुल निर्माणको काम अत्यान्तै सुस्त देखिएको गाउँपालिकाका अध्यक्ष राईले बताए ।