शुक्रवार, फाल्गुण २१ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २१, जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । बिहिबार खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता राईले संसद पुःर्नस्थापना भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा दिनुपर्ने राजीनामा नदिएकाले प्रधानमन्त्रीबाट हटाउनका लागि कदम चाल्नु पर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा नदिँदा मुलुकमा थप राजनीतिक विकृति मौलाएको वरिष्ठ नेता राईको भनाई छ । ‘संसद पुर्नस्थापना भए पछि प्रधानमन्त्री ओलीले नैतिक रूपमा राजीनामा दिनुपर्ने थियो । नैतिकताको आधारमा राजीनामा नदिएकाले मुलुकमा राजनैतिक विकृति मौलाउदै गएको छ,’ बरिष्ठ नेता राईले भने, ‘प्रधानमन्त्रीले राजीनामा नदिए हटाउनलाई आवश्यक कदम चाल्ने बेला भएको छ ।
यो बेला खतरामा परेको लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन नेपाली कांग्रेसले भूमीका खेल्नुपर्ने अवस्था छ ।’ वरिष्ठ नेता राई चार दिनदेखि आफ्नो गृह–जिल्लाका विभिन्न स्थानमा आयोजित पार्टीका कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । उनी आगामी फागुन २५ गतेसम्म खोटाङमै रहने जसपाले जनाएको छ ।
जन्तेढुंगामा आयोजित कार्यक्रममा नेकपाका स्थानीय नेता किशोर राईसहित ३५ जना कार्यकर्ता तथा समर्थक जनता समाजवादी प्रवेश गरेको जसपा खोटाङका प्रचार विभाग प्रमुख रविन खम्बुले बताए । सो कार्यक्रममा जसपाका प्रदेश नम्बर १ का उपाध्यक्ष घनश्याम कटुवाल, प्रदेश सदस्य केशवराज कार्की, किरात प्रदेश समिति सदस्य देवेन्द्र श्रेष्ठ, समाजवादी ट्रेड युनियनकी कोषाध्यक्ष कल्पना राई, जिल्ला सदस्य गुरुराज राई, उदयपुरका नेता गोपाल राई, नेफेसो सिंगापुरका ईन्चार्ज केदार राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य रहेका खम्बू लगायतका नेताहरुको उपस्थिति थियो ।