सोमवार, फाल्गुण १७ २०७७
नेपाल वाइड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले तत्काल दलको आधिकारिकता निरूपण गरिदिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज बसेको दाहाल–नेपाल समूहको सचिवालय बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको हो ।
त्यस्तै, आजको सचिवालय बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सम्भवतः भोलि नै बैठक आह्वान हुनसक्ने प्रवक्ता नाारयणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको विषयमा समेत बैठकमा छलफल भएको भन्दै प्रवक्ता श्रेष्ठले त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।