Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङका चार स्थानिय तहमा नौ दिने स्वास्थ्य शिविर : २ हजार २९४ सर्वसाधारण लाभान्वित

    खोटाङका चार स्थानिय तहमा नौ दिने स्वास्थ्य शिविर : २ हजार २९४ सर्वसाधारण लाभान्वित

    चश्मा आवश्यक परेमा निःशुल्क उपलव्ध गराउने सम्वन्धित स्थानीय तहका प्रमुखको प्रतिवद्धता

    • सोमवार, फाल्गुण १७ २०७७

    • नेपाल वाइड


    खोटाङका चार स्थानिय तहमा नौ दिने स्वास्थ्य शिविर : २ हजार २९४ सर्वसाधारण लाभान्वित
    जालपामा आयोजना गरिएको स्वास्थ्य शिबिरमा दाँतको उपचार गराउँदै स्थानीय

    खोटाङ । फागुन १६, खोटाङको विभिन्न चार पालिकाका पाँच स्थानमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २ हजार २९४ सर्वसाधारणले सेवा पाएका छन् । जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजना र जनसेवा सामुदायीक अस्पतालको आयोजनामा ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावावेसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाँच स्थानमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको थियो ।

    गत फागुन ५ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट सुरु गरिएको स्वास्थ्य शिबिर अभियान शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पुगेर टुंगिएको छ । कोरोना महामारीपछिको लकडाउनका कारण सहज उपचार गर्न नपाउँदा समस्या झेलीरहेका सर्वसाधारणलाई गाउँ–ठाउँमै स्वास्थ्य सेवा दिने लक्ष्यकासाथ आयोजना गरिएको शिबिरमा सबैभन्दा बढि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका बिरामी लाभान्वित भएका छन् ।

    पाथेकामा आयोजना गरिएको शिबिरमा ५८० जना, ऐसेलुखर्कमा आयोजना गरिएको शिबिरमा ४७७ जना, केपिलासगढी गाउँपालिकाको बाक्सिलामा आयोजना गरिएको शिबिरमा ४५३ जना, जालपामा आयोजना गरिएको शिबिरमा ४०३ जना र रावाबेँसी गाउँपालिकाको हरम्टारमा आयोजना गरिएको शिबिरमा ३८१ सर्वसाधारणले स्वास्थ्य सेवा पाएका छन् ।

    Sibir Opaning jalapa.jpg

    जालपामा शिविर उद्धघाटनका अबशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राई, जालपाका वडाअध्यक्ष विकास राईलगायत

    शिविरमा उपचार गरिएका कुल ४१३ जना दाँतका विरामीमध्ये २३७ जनाको दाँत उखालिएको, १९७ जनाको सुगर तथा ८६ जनाको पिसाव परीक्षण गरिएको जालपा सामुदायिक अस्पतालका ईन्चार्ज डा. नेहा बजिमयले बताईन् । यस्तै, २८७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको, मोतियाविन्दु भएका १२६ जना विरामी पहिचान गरिएको, ३०९ महिलाको स्त्रीरोग परीक्षण गरिएको, ९३ जनाको पाठेघरको नमूना संकलन गरी ल्याब परीक्षणका लागि काठमाण्डौं पठाइएको, १२ जनाको रिङ प्रेसरी राखिएको, १७७ जना वालवालिकाको बालरोग सम्वन्धी चेकजाँच गरिएको छ ।

    शिबिरमा पत्थरी, गर्भवती, तल्लोपेटको समस्या भएका ३१६ जनाको भिडियो एक्स–रे गरिएको जनसेवा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताए । स्वास्थ्य सेवाका लागि घण्टौं हिँडेर शिबिरमा आएका विरामीलाई ९ लाख रुपैयाँभन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको छ । आँखाका समस्या भएका ज्येष्ठ नागरिक, विपन्न, महिला, दलितलाई भने सम्वन्धित स्थानीय तहले नै निःशुल्क चश्मा प्रदान गरेको थियो ।

    ६० वर्षभन्दा माथिका आँखाका विरामीलाई चश्मा आवश्यक परेमा निःशुल्क उपलव्ध गराउने सम्वन्धित स्थानीय तहका प्रमुखले प्रतिवद्धता जनाएका छन् । कोरोना महामारीका कारण सहज उपचार गर्न नसकिरहेका विरामी गाउँमै स्वास्थ्य सेवा पाउँदा हर्षित भएका छन् । शिबिरमा दाँत फुकालेपछि दुख्ने दाँतबाट मुक्ती मिलेको ऐसेलुखर्ककी पूर्णमायाँ राईले बताईन् ।

    जिल्लाको पुर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच बिस्तार गर्ने उद्धेश्यका साथ २०६९ सालमा स्थापित सामुदायिक अस्पतालले दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर साझेदारीमा स्वास्थ्य शिबिर आयोजना गरेको हो ।

    २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परिक्षण गर्ने लक्ष्यकासाथ शिबिरको आयोजना गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । स्वास्थ्य शिबिरमा एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना दन्तरोग विशेषज्ञ लगायतका स्वास्थ्यकर्मी टोली खटिएका थिए ।

    सम्बन्धित समाचार