शनिवार, फाल्गुण १५ २०७७
नेपाल वाइड
खोटाङ । फागुन १५, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा जारी सर्वाधिक राशीको फुटबल प्रतियोगीतामा दुर्छिम र दोर्पाचिउरीडाँडा फाईनल प्रवेश गरेको छ । मझुवागढी रञ्जितमान राई खेलमैदानमा जारी मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको शनिबार भएको सेमीफाईनल खेलमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–७ दोर्पाचिउरीडाँडा फाइनलमा प्रवेश गरेको हो ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारलाई ४ का विरुद्ध ५ गोल गर्दै दुर्छिम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेललाई २ का विरुद्ध ६ गोल गर्दै दोर्पाचिउरीडाँडाले फाईनलको यात्रा तय गरेको हो । पहिलो खेल गोल रहित सकिएपछि दुर्छिमले खोटाङबजारलाई पेनाल्टी सुटआउटमा हराएको हो । पराजयसँगै दिक्तेल र खोटाङबजार सेमीफाइनलिष्ट बनेको छ । फाईनल खेल आईतबार बिहान १२ बजेपछि सुरु हुने लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए ।
‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा गत सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगितामा २१ टिमले प्रतिष्पर्धा गरेका थिए । वडा कार्यालय र नमुना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगिता प्रदेशसभा सांसद रामकुमार राई पासाङले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१/३१ हजार नगद पुरस्कार पाउने छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए । वडा कार्यालयको पहलमा लफ्याङ छिवामाका स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि खेलमैदान निर्माण लगत्तै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।