बिहिवार, फाल्गुण १३ २०७७
नेपाल वाइड
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको दौडधूप शुरू भएको छ । संसद् बैठक बस्ने समयसीमा तोकिएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलबीच दौडधूप शुरु भएको हो । नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–नेपाल समूहले परामर्श अगाडि बढाएको छ । संसद् पुनःस्थापना भएको विजयी उत्सव मनाउँदै नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको खोजी गर्न गृहकार्य अगाडि बढाएको छ ।
हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको नेकपा प्रचण्ड–नेपाल समूहले आज जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल थालेको छ । छलफलका लागि जसपा नेताहरू पेरिसडाँडा पुगेका छन्। जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन् । दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।
एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् । नेकपाको आधिकारिकताको विवाद निर्वाचन आयोगमा विचाराधीन छ । पार्टी दुई समूहमा विभाजित भए पनि औपचारिकरुपमा नेकपा विभाजित भएको छैन ।