मंगलवार, फाल्गुण ११ २०७७
नेपाल वाइड
खोटाङ । फागुन ११, संसद पुनर्स्थापनाको स्वागतमा खोटाङमा दिप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले विघटित संसद पुःर्नस्थापना गर्नुपर्ने फैसला गरेपछि दिक्तेलमा नेपाली कांग्रेस र नेकपा (दाहाल–नेपाल) समुह निकट राष्ट्रिय युवा संघ नेपालले दिक्तेलको त्रिबेणीचोकमा मंगलबार साँझ दिप प्रज्वलन गरेको हो । संसद पुःर्नस्थापना भएको खुसीयालीमा केही अगाडि कांग्रेसले र केहीबेरमा युवा संघले दिप प्रज्वलन गरेको हो ।
कांग्रेसले आयोजना गरेको दिप प्रज्वलनमा प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, जिल्ला सभापति नरेश श्रेष्ठ, सचिव ज्ञानेन्द्र जोशी लगायलको उपस्थिति रहेको थियो । यस्तै, युवा संघको दिपावलीमा संविधानसभा सदस्य दुर्गाजयन्ती राई र नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य राजन आचार्यले सर्वोच्च अदालतको फैसलाले न्यायलयप्रतिको आस्था र गरिमा उँचो बनाएको बताएका छन् ।
संसद पुःर्नस्थापनाको स्वागतमा कतिपयको घर–घरमा पनि दिप प्रज्वलन गरिएको छ । संसद पुःर्नस्थापनाको फैसला आए लगत्तै कांग्रेस, नेकपा (दाहाल–नेपाल) र समाजवादी पार्टीका नेताले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरेका छन् ।