मंगलवार, फाल्गुण ११ २०७७
नेपाल वाइड
बीबीसी । सम्बन्ध बिग्रँदै गए पनि भारतको प्रमुख व्यापारिक साझेदारका रुपमा चीनले आफूलाई पुनःस्थापित गराएको छ । गत वर्ष सिमानामा भएको ठूलो झडपपछि भारतले टिकटक र वीच्याटसहित २२० चिनियाँ प्राविधिक एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती एपहरुले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने बताउँदै एपहरु बन्द गरिएको हो भने चिनियाँ सामानहरु पनि बहिस्कार गर्ने भनिएको थियो ।
तर, यसका बाबजुद् यी दुई छिमेकीबीच सन् २०२० मा ७७.७ अर्ब डलर बराबरको कारोबार भएको हो ।यो तथ्यांक अघिल्लो वर्षको भन्दा कम भए पनि चीनलाई भारतको सबैभन्दा ठूलो व्यापारिक पार्टनर बनाउन पर्याप्त रहेको दिल्लीको वाणिज्य मन्त्रालयले जनाएको छ । प्यान्डेमिकको अभवधिभरि विश्वव्यापी व्यापारको प्रवाह अस्थायी रूपमा रोकिएको थियो । पछि गएर मेडिकल उपकरण र आपूर्तिको माग भने बलियो हुँदै गएको हो ।
आत्मनिर्भर बन्ने र बेइजिङसँगको व्यापारिक कारोबार कम गराउने निरन्तर प्रयासपछि पनि भारत अझै भारी मेसिनरी, टेलिकमका उपकरण र घरेलु सामानहरुमा चीनमै पूर्ण निर्भर रहेको छ । भारतले चीनबाट ५८.७ अर्ब डलर बराबको सामान आयात गरेको उल्लेख छ, यो अमेरिका र यूएईलाई मिलाउँदाभन्दा धेरै हुन्छ । चीनपछि अमेरिका र यूएईसँग भारतले सबैभन्दा धेरै कारोबार गर्ने गरेको छ ।
नेसनल युनिभर्सिटी अफ सिंगापुरका अर्थशास्त्री अमितेन्दु पलितका अनुसार चिनियाँ आयातमै निर्भर भइरहनुपछाडिको कारण भनेको स्थानीय रूपमा ती सामानहरुको उपलब्धतामा अभाव हुनु हो । चीनबाट आयात गर्न एकदमै सस्तो पर्छ र पर्याप्त मात्रामा र छिटो उपलब्ध गराउन सकिन्छ ।
तर, अन्य स्रोतहरुबाट अयात गर्दा चीनको तुलनामा महँगो हुने अनि धेरै समय लाग्ने गरेको उनले बताए ।गत जुन महिनामा भारत र चीनबीच भएको ठूलो झडपमा कम्तीमा पनि २० भारतीय सेना मारिएको जनाइएको थियो । त्यस्तै, अघिल्लो हप्ता मात्र चीनले पनि आफ्नो तर्फका चार सेनाको उक्त झडपमा मृत्यु भएको जानकारी दिएको थियो । सो घटना ४५ वर्षकै सबैभन्दा हिंसात्मक झडप भएको पनि बताइएको छ । हाल दुवै पक्षले वार्ता गरी विवादित क्षेत्रबाट आफ्ना सेना हटाइरहेका छन् ।