सोमवार, फाल्गुण १० २०७७
नेपाल वाइड
खोटाङ । फागुन १०, आगलागीबाट घर जल्दा विस्थापित भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका निर्भराज राईलाई आफन्त तथा शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ । गत माघ १४ गते भएको आगलागीबाट विस्थापित भएका राई परिवारलाई स्वदेश तथा विदेशमा रहेका आफन्त तथा शुभेच्छुकबाट ९० हजार १० रुपैयाँ सहयोग प्राप्त भएको हो ।
रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका २० जना दाताबाट जुटाइएको सहयोग रकम अग्नी पिडितको खातामा जम्मा गरिएको ‘निर्भराज राई सहयोग अभियान ग्रुप’का अभियान्ता जनक चाम्लिङले जानकारी दिए । आगलागीबाट विस्थापित भएका राई परिवारको सहज जीवनयापनका लागि चाम्लिङकै अगुवाईमा निर्भराज राई सहयोग अभियान सञ्चालन गरिएको थियो ।
सहयोग अभियानकै क्रममा केही समयअघि अग्नी पिडितको सहयोगार्थ हङकङमा रहेका नरेन्द्र राईको पहलमा १ लाख ९ हजार ७० रुपैयाँ सहयोग रकम खातामा जम्मा गरिएको थियो । अग्नी पिडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले पनि राहत स्वरुप १० हजार प्रदान गरेको थियो ।