आइतवार, फाल्गुण ९ २०७७
नेपाल वाइड
खोटाङ । फागुन ९, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका बिशिष्ट व्यक्तीलाई वडा कार्यालयले सम्मान गरेको छ । सल्लेमा जन्म भइ राजनैतिक, प्रशासनिक, शिक्षा, स्वास्थ्य, सुरक्षा, समाजसेवा लगायतका माध्यमबाट गाउँदेखि सिंगो राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै वडाका कार्यालयले आईतबार पुर्वप्रधानपञ्चदेखि पुर्वराज्यन्त्रीसम्मलाई सम्मान गरेको हो ।
वडा कार्यालयले पुर्वराज्यमन्त्री सर्वधन राई, पुर्वउपकुलपति तथा राष्ट्रियसभा सदस्य बिदुरप्रसाद पौडेल, सहसचिव नारदप्रसाद पौडेल, उपसचिव ठिकु श्रेष्ठ, पुर्वउपसचिव राधाकृष्ण श्रेष्ठ लगायत २५ जना विशिष्ट व्यक्तीलाई सम्मान गरेको छ । वडा कार्यालयबाट डाक्टर अबिन्द्र राई र पुनम रुम्बा, अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ (बिश्व) र देबेन्द्र राई, शसस्त्र प्रहरीका प्रहरी निरिक्षक सिताराम पौडेल, नासु तुलसीराज पौडेल, प्रहरी नायव निरिक्षक धनबहादुर थापा सम्मानित भएका छन् ।
यस्तै, पुर्वगाबिस अध्यक्ष लोहाबिर राई र रामबकस राई, पुर्वगाबिस उपाध्यक्ष चक्रकुमार श्रेष्ठ र ईन्द्रबहादुर थापा, पुर्वप्रधानपञ्च मदनबहादुर थापा र बीरबहादुर थापा, पुर्वउपप्रधानपञ्च कर्णबहादुर श्रेष्ठ र बिश्वकुमार पौडेललाई सम्मान गरिएको छ । वडा कार्यालयले समाजसेवी तथा बुद्धिजिवी दुरेन्द्रकुमार राई, इन्द्रकुमार राई, अजम्बर राई, चंखबहादुर राई, हस्तबहादुर राना लगायतलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा पुर्वराज्यमन्त्री राई भने अनुपस्थित भएका छन् । सल्लेको माटोमा जन्म लिएर समाज र देशलाई योगदान दिने व्यक्तीलाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई अशल कामका लागि उत्प्रेरित गर्ने लक्ष्यका साथ सम्मान कार्यक्रम राखिएको वडाध्यक्ष कासीराज राईले बताए । वडाका बिशिष्ट व्यक्तीलाई टोपी र दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ ।
सम्मानित व्यक्तीलाई नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले टोपी लगाइदिएर दोसल्ला ओढाउँदै सम्मान–पत्र प्रदान गरेका छन् । वडाको सम्मान पाउँदा विशिष्ट व्यक्ती हर्षित देखिएका थिए । सम्मान कार्यक्रममा नगरप्रमुख राईले देशका लागि योगदान दिने विशिष्ट व्यक्तीको सम्मान गर्ने असल कामको सुरुवात भएको बताएका छन् । ‘समाज र राष्ट्रलाई योगदान दिने व्यक्तीको सम्मान गर्ने संस्कारको बिकास भएको छ ।
यसले योग्य नागरिक बन्नका लागि समाजमा उत्प्रेरणा दिएको छ,’ नगरप्रमुख राईले भने, ‘वडाको सम्मान कार्यक्रमले सम्मानित हुनका लागि राम्रो काम गर्नुपर्ने रहेछ भन्ने सन्देश गएको छ ।’