शनिवार, फाल्गुण ८ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँडतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पुरा गर्न चालु आर्थिक वर्षको साँढे पाँच करोड बढि रकम खर्च गरेको छ । शुक्रबार हलेसीस्थित होटल जाम्बालामा भएको आठौं हिउँदे नगरसभामा उपमेयर बिमला राईले चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगतीका विषयमा जानकारी दिनेक्रममा संघ र प्रदेशले सिलिङ अनुशार राजस्व बाँडफाँडतर्फको पैसा नपठाउँदा गत वर्ष अधुरो रहेका योजना पुरा गर्न ५ करोड ५९ लाख ८९ हजार आर्थिक दायित्व पूरा गर्नु परेको जानकारी दिएकी छन् ।
कोभिड–१९ को कारण देखाउँदै संघ र प्रदेशबाट सिलिङ अनुसारको बजेट नआउँदा आर्थिक वर्ष २०७६/०७७ को अधुरा योजना सम्पन्न गर्नेगरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगरसभामा जानकारी दिइएको छ । उपमेयर राईले गत आर्थिक वर्ष सिलिङ अनुसारको बजेट नआउँदा अधुरो रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ८ वटा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १२ वटा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका ७ वटा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ५ वटा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४ वटा र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १० वटा योजनालाई चालु आर्थिक वर्षको बजेटबाट पुरा गरिएको बताएकी छन् ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ७ वटा, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ९ वटा, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ४ वटा, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैलेका ६ वटा र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४ वटा योजनालाई चालु आर्थिक वर्ष बजेट बिनियोजन गरेर पुरा गर्नु परेको जानकारी दिइएको छ । यस्तै, नगरस्तरिय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालु आर्थिक वर्षको नगरसभाबाट बजेट बिनियोजन गरेर अघि बढाइएको छ ।

गत वर्ष प्रदेश र संघबाट सिलिङ अनुसारको बजेट नआएपछि नगरपालिकाको नगरसभाले अधुरा योजना पूरा गर्नका लागि ५ करोड ५९ लाख ८९ हजार विनियोजन गरेको थियो । विनियोजन भएका बजेटमध्ये हालसम्म ३ करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र १ करोड ८३ लाख ७२ हजार मध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपुरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ ।
बजेट अभावमा अलपत्र र अधुरो रहेका गत वर्षको योजनालाई पूरा गर्नका लागि यस वर्ष प्राथमिकतामा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘हामीलाई प्राप्त भएको सिलिङ अनुसार बजेट निर्माण गर्यौ, योजना बनायौँ र सम्झौता गरेर काम अघि बढायौँ,’ मेयर राईले भने, ‘तर तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पुरा गर्नका लागि हामीले चालु आर्थिक वर्षको बजेटबाट रकम व्यवस्था गरेर काम अघि बढाएका थियौँ ।’
हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगती गरेको छ । नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रकम स्विकृत गरेकामा चालुतर्फ विनियोजन भएको ५ करोड ४२ लाख ५३ हजार ६६० मध्ये २ करोड ९० लाख ६६ हजार ८२२ रुपैयाँ खर्च भएको तथा पुँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ बिनियोजन भएकामा ५ करोड ६३ लाख ४३ हजार ७४८ रुपैयाँ खर्च भएको छ । गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पुँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगती भएको उपमेर राईले जानकारी दिएकी छन् ।

शिक्षा शाखाका लागि १९ करोड ९५ लाख विनियोजन भएकामा ७ करोड ९६ लाख ७६ हजार ८६२ खर्च भएको, महिला तथा वालबालिका शाखाका लागि ५२ लाख बिनियोजन भएकामा १ लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि ५ करोड ७१ लाख विनियोजन भएकामा २ करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको, योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन गरिएकामा ५ करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि बिनियोजन गरिएको २० लाख विनियोजन गरिएकामा ५ लाख ९४ हजार ६९० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगरसभाले चालु आर्थिक वर्षको स्वीकृत ८ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याँई सहित संशोधन गरेको छ । ३ लाख ५० हजार विनियोजन गरिएको कालिका देवीथान धोद्रे खोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामिण सडक निर्माण योजना कायम गरिएको छ ।
१ लाख बिनियोजन गरिएको ताराखसे गैरीगाउँ आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशिलताका लागि ड्राइभिङ तालिम कायम गरिएको जानकारी दिइएको छ । नगरसभामा उपमेयर राईले प्रस्तुत गरेको नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको बित्तीय र भौतिक प्रगती प्रतिबेदन तथा मेयर राईले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई पारित गरेको छ ।