बुधवार, फाल्गुण ५ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । ‘उज्यालो वडा’ घोषणा अभियान अन्तरगत मंगलबार धितुङलाई उज्यालो वडा घोषणा गरिएको हो । नेपाल विद्युत प्राधिकरण र नगरपालिकाको संयुक्त लगानीमा वडाका ६ सय घरधुरीमा विद्युत विस्तार गरेपछि मेयर इवन राई र उपमेयर बिमला राईले बत्ती स्वीच अन गरेर धितुङलाई उज्यालो वडा घोषणा गरेका हुन् ।
गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन अन्तरगतको विद्युत बलेपछि स्थानीय हर्षित भएको धितुङका वडाध्यक्ष पृथीराज राईले बताए । ११ वडा रहेको नगरपालिकाको धितुङलाई तेश्रो ‘उज्यालो वडा’ घोषणा गरिएको हो । यसअघि हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेर र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई आर्थिक वर्ष २०७६/०७७ मा ‘उज्यालो वडा’ घोषणा गरि सकिएको छ । ११ वडा रहेको नगरपालिकामा हालसम्म ८ वडामा विद्युत विस्तार भइसकेको छ ।
नगरपालिकाका अनुशार अव हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारलाई उज्यालो वडा घोषणा गर्न बाँकी छ । नगरपालिकाले विद्युत विस्तार गर्न बाँकी वडामा विद्युतीकरणको कामलाई तिब्रता दिएको मेयर राईले बताए ।
स्थानीय सरकार आउन अघि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा मध्यपहाडी लोकमार्ग आसपासका टोलमा मात्र विद्युत बिस्तार भएको थियो । स्थानीय सरकार कार्यान्वयनमा आएपछि ‘उज्यालो वडा’ घोषणा अभियान चलाएर विद्युत बिस्तारको कामलाई तिब्रता दिइएको हो । यद्यपी, विद्युत विस्तार भइसकेका वडाका कतिपय घरमा विद्युत विस्तार गर्न बाँकी देखिएको छ ।