बिहिवार, माघ २९ २०७७
नेपाल वाइड
खोटाङ । माघ २९, सडक दुर्घट्नामा ज्यान गुमाएका खोटाङका विद्यार्थी नेता मिलन राईको सम्झनामा दिप प्रज्वलन गरिएको छ । २०७३ साल माघ २५ गते भक्तपुरमा भएको मोटरबाईक दुर्घटनाका कारण ज्यान गुमाएका रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका बिद्यार्थी नेता राईको स्मृति दिवसमा दिप प्रज्वलन गरिएको हो ।
मिलन राई स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार किरात माङखिम सानोहात्तीवन ललितपुरमा दिप प्रज्वलन गर्दै मृतक राईको सम्झना गरिएको हो । चौथो स्मृति दिवस कार्यक्रममा विघटित संविधानसभा सदस्य बिशाल भङराई, नेकपा खोटाङ (ओली समुह)का नेता राम दंगाल लगायतका नेता तथा शुभेच्छुकले दिप प्रज्वलन गरेका थिए ।
तत्कालिन अनेरास्वबियुका केन्द्रीय सदस्य एबं अनेरास्वबियुको खोटाङ र सोलुखूम्बु ईन्चार्जकोकारुपमा कार्यरत राईको सडक दुर्घटनामा परेको तीन दिनपछि ट्रमा सेन्टरमा उपचारकाक्रममा २०७३ साल माघ २७ गते मृत्यु भएको थियो । सांगठनिक कामको सिलसिलामा राजधानी काठ्माण्डौंबाट दिक्तेल आउनेक्रममा उनी मोटरबाईक दुर्घटनामा परेका थिए ।
भक्तपुरमा सडकको डिभाईडरमा बाईकसँगै ठोक्किएर गम्भीर घाईते भएपछि उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । बिहान ४ बजेपछि हिँडेको केही समयपछि नै उनी दुर्घटनामा परेका थिए । सानो उमेरमै पार्टीभित्र कुशल संगठक, जुझारु र ईमान्दार व्यक्तीको परिचय बनाएका राईको राईको स्मृतिमा उनकै समाधिस्थलमा ‘मिलन राई स्मृतिपार्क’ निर्माणको काम सुरु भइसकेको छ । छोटो समयमा नै लोकप्रियता कमाउन सफल बिद्यार्थी नेता राईको बिकास सम्बन्धी सपना र योजनालाई पूरा गर्ने लक्ष्यका साथ उनकै दाई पदम थुलुङको अध्यक्षतामा ९ सदस्यीय प्रतिष्ठान स्थापना गरिएको छ ।
यसैबीच, स्वर्गीय नेता मिलन राईको स्मृतिमा स्थापना गर्न लागिएको अक्षयकोषका लागि पत्रकार हरिबोल आचार्यले ५० हजार प्रदान गर्ने घोषणा गरेका छन् । मिलन राई स्मृति प्रतिष्ठानले स्थापना गर्न लागेको १० लाखको स्वर्गीय मिलन राई स्मृति अक्षय कोषका लागि हलेसी न्यूज नेटवर्क प्रालि खोटाङका सञ्चालक आचार्यले सहयोग गर्ने घोषणा गरेका हुन् ।
वार्षिकरुपमा आउने व्याजबाट जिल्लाका सामुदायीक विद्यालयबाट सबैभन्दा बढि अंक ल्याएर एसइई उत्तिर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने लक्ष्यका साथ अक्षयकोष स्थापनाको तयारी गरिएको हो । कोषका लागि हालसम्म एक लाख बढि रकम जम्मा भइसकेको मिलन राई स्मृति प्रतिष्ठानका अध्यक्ष थुलुङले बताए ।