मंगलवार, माघ २७ २०७७
नेपाल वाइड
खोटाङ । माघ २७, खोटाङको रावाबेँसी गाउँपालिकाका महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यलाई नेतृत्व बिकास सम्वन्धी तालिम दिइएको छ । स्थानीय तहमा निर्वाचित महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यको क्षमता अभिवृद्धिका लागि ‘सि लिड्स’ परियोजना अन्तर्गत महिला नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम दिइएको हो ।
वडामा प्रभावकारी ढंगले आफ्नो भूमीका निर्वाह गर्न/गराउन सक्षम बनाउने लक्ष्यका साथ आयोजना गरिएको प्रारम्भिक प्रशिक्षण मोड्युल–१ महिला नेतृत्व विकास सम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । स्वीस सरकार विकास नियोग र अस्टे«लियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा सञ्चालन गरेको नेतृत्व बिकास तालिममा गाउँपालिकाका ६ वडाका १० महिला जनप्रतिनिधि र दलित महिला जनप्रतिनिधिको सहभागीता रहेको आयोजकले जनाएको छ ।
महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यलाई आवश्यक सीप र ज्ञान प्रदान गर्दै आ–आफ्नो वडामा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्न सक्षम बनाउन, उनीहरुको आत्मविश्वास बढाएर राजनीतिक संवादमा सहभागी हुने वातावरण सिर्जना गर्न एबं स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिबिच एकआपसमा अनुभव आदान–प्रदान गर्दै सहयोगी सञ्जाल निर्माण गर्ने उद्धेश्यका साथ महिला नेतृत्व विकास सम्बन्धि तालिमको आयोजना गरिएको दलित महिला केन्द्र नेपालले जनाएको छ । तालिममा दलित महिला केन्द्र नेपालका प्रशिक्षक दुर्गाजयन्ती राई र देवेन्द्रकुमार राईले सहजीकरण गरेका थिए ।
तालिममा सहभागी महिला वडा सदस्यले आफ्नो राजनीतिक जीवनमा अघि बढ्नका लागि नेतृत्व बिकास सम्वन्धी तालिम महत्वपूर्ण हुने बताएका छन् । तालिममा सहभागी रावाबेँसी गाउँपालिका–५ दुवेकोलकी वडा सदस्य लक्ष्मीदेवी पाण्डेले सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गरी समाजलाई सफल नेतृत्व प्रदान गर्ने बताईन् । ‘तालिम प्रभावकारी भएको छ ।
यसले हामीलाई केही गर्ने आँट र साहस दिएको छ,’ वडा सदस्य पाण्डेले भनिन्, ‘यस्तो तालिम वडासमितिमा निर्बाचित भए लगत्तै भएको भए हाम्रो क्षमता विकासको लागि र आफ्नो भूमिका निभाउन उपयोगी हुने थियो । जति जानेका छौँ त्यसलाई व्यवहारमा उतार्ने कोसिस गर्ने छौँ ।’ तालिम रावाबेशी गाउँपालिका–१ कुभिण्डेका वडाध्यक्ष लिलानारायण श्रेष्ठ (सबिन)को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो ।
दलित महिला केन्द्र नेपालले यसअघि हलेसी तुवाचुङ नगरपालिकामा तालिम सञ्चालन गरिसकेको छ । केही समयपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सोही किसिमको कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको ‘सि लिड्स’ परियोजनाका जिल्ला संयोजक भानु राईले बताए ।