सोमवार, माघ २६ २०७७
नेपाल वाइड
काठमाडौँ । नेपालमा आज दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू हुँदैछ । दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालिनेछ । उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारसहित भण्डै १९ हजारलाई कोरोना खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्र श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाबाट सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइनेछ भने मंगलबारदेखि देशका ७७ वटै जिल्लाबाट खोप वितरण गरिनेछ ।
महाराजगञ्ज शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।
देशभर करिब १३ हजार पत्रकार छन् । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।
स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो । तर, पहिलो चरणको पहिलो डोज खोप लगाउनेहरूको सहभागिता लक्ष्यअनुरूपको नभएपछि सरकारले सहभागिता बढाउन खोप केन्द्र पनि थप्दै लाने जनाएको छ ।