Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किशोरी भागरथी भट्टको मृत्युले गाउँनै शोकमा

    किशोरी भागरथी भट्टको मृत्युले गाउँनै शोकमा


    • आइतवार, माघ २५ २०७७

    • नेपाल वाइड


    किशोरी भागरथी भट्टको मृत्युले गाउँनै  शोकमा
    भागरथी भट्ट

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युले गाउँनै नै शोकमा डुबेको छ । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन् । २१ माघमा विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी थालिएको थियो । उनको २२ माघ साँझ स्थानीय लबलेक जङ्गलमा शव भेटिएको थियो । स्थानीय केशव भट्टले अकल्पनीय घटना भएको बताए ।

    उनको शव भेटिएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शङ्करदत्त भट्टले बताए । “विद्यालयबाट फर्किने वेला घटना भएको छ, यस घटनाले छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत डराउनुपर्ने भएको छ,” उनले भने । भागरथीका बुबाको दुई महीना अघिमात्रै मृत्यु भएको थियो । उनका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् ।

    छोरी गुमाएकी द्रोपती निकै पीडामा छिन् । श्रीमान् बितेको पीडामै रहेकी उनलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको छ । भागरथीको बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तको छ । कपडा च्यातिएको, शरीरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेको छ । यो सबै हेर्दा बलात्कारपछि हत्या भएको उनका काका शिवराज भट्टले बताए ।

    भागरथीको शव परीक्षण गरिएको छ । परीक्षणको रिपोर्ट आउन अझै एक दुई दिन लाग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले बताए । उनका आफन्तजले शव बुझेका छैनन । “अपराधी पत्ता लागेको छैन, आज शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ,” उनका काका शिवराजले भने ।

    किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा त्यो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ । घटना शङ्कास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार–बिहीबार सञ्चालन भएका सवारी साधनको खोजी गरिरहेको छ । सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए ।

    “किशोरीका गाउँका विद्यार्थीसँगै सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ,” उनले भने । घटनालाई गम्भीररुपमा लिएकोले अनुसन्धानलाई पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।

    यस घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ । यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ । रासस 

    सम्बन्धित समाचार