बिहिवार, माघ २२ २०७७
नेपाल वाइड
खोटाङ । माघ २२, नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले आयोजना गरेको हड्तालको प्रभाव खोटाङमा पनि परेको छ । हड्तालको प्रभाव यातायात, शैक्षिक संस्था र व्यपार–व्यवसायमा बढि परेको देखिएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी साधन ठप्प बनेका छन् । सडक तथा बजारमा बाईक मात्र फाट्टफुट्ट कुदिरहेका छन् ।

बिहिबार बिहान दिक्तेलबजारका होटल तथा पशल आंशिक रुपमा खुले पनि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले बन्द आव्हान गर्दै हिँडेका थिए । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)का अध्यक्ष पृथ्वी किराँती, प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, कार्यालय सदस्य जलसेर राई, विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधि, युवा संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको टोलीले शान्तिपुर्ण ढंगले वन्द गर्न आव्हान गरेपछि होटल तथा पशल सञ्चालनमा प्रत्यक्ष प्रभाव परेको छ ।

हड्तालको कारण निजी तथा सामुदायिक विद्यालयको पठन–पाठन रोकिनुका साथै परिक्षा एकदिन पछि सरेको छ । हड्तालका क्रममा अस्पताल, औषधि, एम्बूलेन्स जस्ता अत्यावश्यक सेवाहरुमा भने रोक नलगाइएको बन्दकर्ताले बताएका छन् । बन्दकाक्रममा कुनै पनि अप्रिय घट्ना नघटेको प्रहरीले जनाएको छ ।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैर–कानूनीढंगले बल मिच्याइ गरेर संवैधानिक अंगका पदाधिकारी एवं सदस्यहरुलाई बुधवार सपथ ग्रहण गराइएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (दाहाल–नेपाल समुह)ले हड्तालको आयोजना गरेको हो ।