बुधवार, माघ २१ २०७७
नेपाल वाइड
खोटाङ । माघ २१, खोटाङको खोटेहाङ गाउँपालिकाले बैदेसिक रोजगारबाट फर्किएका युवा लक्ष्यीत कृषि अनुदान कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७७/०७८ को स्विकृत कार्यक्रम अनुसार गाउँपालिकाले विदेशबाट आएपछि गाउँमा कृषि व्यवसाय अपनाउन इच्छुक युवालाई मागमा आधारित कृषि अनुदान दिने कार्यक्रम ल्याएको हो ।
बैदेसिक रोजगारबाट फर्केका युवालाई कृषि अनुदान उपलव्ध गराउनका लागि आगामी फागुन ३ गतेभित्र प्रस्ताव पेश गर्न आव्हान गरिएको गाउँपालिकाकी नाप्रास ममिता खवासले बताईन् । गाउँपालिकाले बैदेसिक रोजगारीबाट फर्किएर आफ्नै गाउँमा कृषि कर्म गर्न इच्छुक ९ जना युवालाई ५० प्रतिशत अनुदानमा कृषि अनुदान उपलव्ध गराउने तयारी गरेको छ ।
गाउँपालिकाले आधुनिक कृषि यन्त्र उपकरण खरिदमा १ लाख, टनेल वा ग्रीनहाउस निर्माणमा १ लाख, पशुपंक्षी पालनको लागि गोठ खोर निर्माणका लागि १ लाख, प्लाष्टिक पोखरीका लागि ५० हजार, माछा पोखरी निर्माणका लागि १ लाख, बीउ, बिरुवा र मल खरिदका लागि २० हजार अनुदान उपलव्ध गराउने जनाएको छ ।
यस्तै, उन्नत जातको पशुपंक्षीको पाठापाठी खरिदका लागि १ लाख, आधुनिक महुरी घार खरिदका लागि १ लाख र संकलन तथा केन्द्र चिस्यान केन्द्र निर्माणकालागि २ लाख अनुदान उपलव्ध गराउने सूचनामा उल्लेख छ । कृषि अनुदानका लागि कृषक, कृषि फर्म तथा उद्यमीलाई प्रस्ताव पेश गर्न आव्हान गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।