सोमवार, माघ १९ २०७७
नेपाल वाइड
खोटाङ । माघ १९, खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ । गत माघ १४ गते भएको आगलागीबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका निर्भराज राईलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत स्वरुप नगद १० हजार प्रदान गरेको हो ।
अग्नी पिडित परिवारलाई धितुङका वडाध्यक्ष पृथीराज राईमार्फत राहत रकम हस्तान्तरण गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए । आगलागीबाट विस्थापित भएका राई परिवारको सहज जीवनयापनका लागि कोषले राहत प्रदान गरेको जनाएको छ ।
प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा २०७२ सालमा कोष स्थापना गरिएको हो । २० लाखबाट सुरु गरिएको कोषको मुल धन यस वर्षदेखि २८ लाख पुगेको छ । कोषको वार्षिक रुपमा आउने व्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए ।