आइतवार, माघ १८ २०७७
नेपाल वाइड
काठमाडौँ । बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइएको जनाइएको छ । रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।
चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् । भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो ।
चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो सन् २०१७ मार्च महिनामा देखिएको थियो । सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षीय युवकको मृत्युसमेत भइसकेकाले यसबाट जोगिन उच्च साबधानी अपनाउन सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आग्रह गरेका छन् । विश्व स्वास्थ संगठनका अनुसार मानिसलाई संक्रमण गरे बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म छ ।
बर्ड फ्लु भाइरसले संक्रमण गरे उच्च ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने जस्ता मुख्य लक्षणहरु देखिने डा.पुनले बताए । पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने जस्ता थप अरू लक्षणहरु पनि देखिन सक्ने र अन्त्यमा श्वासप्रश्वासमा अवरोध तथा निमोनिया समेत हुनसक्ने भएकाले शंका लागिसक्दा परीक्षण गर्न उनले सुझाएका छन् । यसको लक्षण पनि कोभिड-१९ सँग मिल्दोजुल्दो छन् । यसको परीक्षण पनि पीसीआर प्रयोगशालाबाटै गर्न सकिने विज्ञहरूले जनाएका छन् ।