शुक्रवार, माघ १६ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङमा एकै दिन ७५ जनालाई कोभिड–१९ विरुद्धको खोप दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारीलाई खोप दिइएको हो ।
स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई पहिलो खोप लगाएर सुरु गरिएको कोभिड–१९ विरुद्धको खोप आगामी माघ १९ गतेसम्म जारी रहने जनाइएको छ । पहिलो दिन ३१ महिला र ४४ पुरुषलाई खोप दिइएको छ । खोप लगाइएका स्वास्थ्यकर्मी, कर्मचारी कसैलाई पनि साइडईफेक्ट नदेखिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
स्वास्थ्यकर्मीका अनुसार कोभिडको संक्रमणबाट बच्नका लागि पहिलो खोप लगाएका व्यक्तीले पुःन २८ दिनपछि अर्को खोपको डोज लगाउनु पर्ने छ । कोभिड विरुद्धको खोप जिल्ला अस्पताल दिक्तेलबाट लगाउने व्यवस्था मिलाइएको छ ।
कोभिड–१९ को संक्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्धेश्यले पहिलो चरणमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी गरी १ हजार ६१८ जनालाई कोभिड विरुद्धको खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोभिड विरुद्धको खोप लगाउनका लागि जिल्लामा ३५६ भायल भ्याक्सिल आएको छ । यो भनेको ३ हजार ५६० डोज औषधि हो । यसले १ हजार ७८० जनालाई खोप दिन पुग्ने सिग्देलले बताए । जिल्ला समन्वय समितिका प्रमुख एबं जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, सुरक्षा निकायमा प्रमुख लगायतको उपस्थितिथिमा कोभिड विरुद्धको खोप दिन सुरु गरिएको थियो ।