मंगलवार, माघ १३ २०७७
नेपाल वाइड
खोटाङ । माघ १३, पाँच वर्षअघिको भूकम्पका कारण घर बिहिन बनेका खोटाङका ७ हजारभन्दा बढि लाभग्राहीले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन् । पुःननिर्माणतर्फ ९ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान भएको जिल्लामा ७ हजार ३९८ लाभग्राहीले निजी आवास अनुदानवापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयका खोटाङले जनाएको छ ।
निजी आवास सहित पुःननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्वन्धमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणले सोमबार दिक्तेलमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयकाका प्रमुख घनश्याम उपाध्ययले हालसम्ममा पुःननिर्माणतर्फ ९ हजार ६८ र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुःननिर्माणतर्फ ८ हजार ६० परिवारले मात्र दोश्रो किस्ता बुझेको जानकारी दिनुभयो ।
यस्तै, पुःननिर्माणतर्फ ९ हजार ६८ घर र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीले पहिलो किस्ता बुझेको प्राधिकरणले जनाएको छ । २०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको निजी आवास पुःननिर्माणकाक्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्ता वापतको ५० हजार अनुदान फिर्ता गरेका छन् ।
यस्तै दोहोरो भुक्तानी लिएका ३ जना लाभग्राहीले १ लाख ५० हजार फिर्ता गरेको उपाध्ययले बताउनुभयो । यस्तै, पुरानो प्रावधान अनुसार २० र नयाँ प्रावधान अनुसार १२१ लाभग्राहीलाई प्रवलीकरणबाट पुःननिर्माणमा परिवर्तनका लागि सिफारिस गरिएको जानकारी दिइएको छ ।
यस्तै, राष्ट्रिय पुःननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार (भ्याट सहित)को खर्चमा कालोपत्रेको तयारी गरिएको दिक्तेल–खानीडाँडा–आहाले सडक (१०.७९ किलोमिटर) कालोपत्रेको काममा हालसम्म ४३.६९ प्रतिशत मात्र भौतिक प्रगती भएको जनाइएको छ । कार्यक्रममा राष्ट्रिय पुःननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना प्रमुख श्यामकिशोर सिंले देशभरको पुःननिर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
भूकम्पीय आवास पुःननिर्माणको काम अन्तिम चरणमा पुग्दा खोटाङका कतिपय वास्तविक भूकम्प पिडित निजी आवास अनुदानबाट बञ्चित भएको गुनासो आएको छ । निजी आवास सहित पुःननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्वन्धमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणले दिक्तेलमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा उपस्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुखले अझैपनि वास्तविक भूकम्प पिडितलाई आवास पुःननिर्माणले छुन नसकेको भन्दै पुःननिर्माण प्राधिकरणको आलोचना गरेका छन् ।
कार्यक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ‘लाभग्राहीको सूचीमा पर्नुपर्ने घर नपरेको तर नपर्नु पर्ने घर परेको’ भन्दै पुःननिर्माण प्राधिकरणको आलोचना गरेका छन् । यस्तै, रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले ‘क’ वर्गको परिचयपत्र पाएका भूकम्प पिडित अहिलेसम्म लाभग्राहीको सूचीमा समावेश हुन नसकेको बताए ।
साकेला गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले कतिपयले पुरानो घर देखाएर आवास अनुदानको भुक्तानी लिएको गुनासो आएको चर्चा गरिन् । केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेबी वनले पनि पुःननिर्माणका क्रममा प्राधिकरणको कमजोरी भएको औंल्याएकी छन् ।