मंगलवार, माघ १३ २०७७
नेपाल वाइड
बागलुङ । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा देखिएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको हो । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ ।
हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । नारायणस्थानमा यसअघि पनि हात्तीपाइले भइसकेका तीन जनालाई समेत पुनः हात्तीपाइलेको जीवाणु फेला परिसकेको छ ।
चौथो पटकको नमूना परीक्षणमा समेत हात्तीपाइलेको जीवाणु फेला परेकाले बागलुङमा हात्तीपाइले निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए । नारायणस्थानमा ३०० र कुश्मिसेरामा ३०० जनामा हात्तीपाइलेको जीवाणु परीक्षण गरिएको थियो । दुवै स्थानमा हात्तीपाइलेको जीवाणु फेला परेसँगै यो वर्ष १२ औँ पटक र आगामी वर्ष १३औँ पटकको अभियान जिल्लाभर चलाउनु पर्ने देखिएको गुरौँको भनाइ छ ।
हात्तीपाइले रोगबाट बच्न सामान्यतया लगातार छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ तर बागलुङमा १३ औँ पटकसम्म अभियान चलाउनपर्ने भएको हो । नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बागलुङ जिल्लासहित नेपालका सात जिल्लामा हालसम्म हात्तीपाइले रोग निवारण गर्न नसकिएको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका सुपरभाइजर सरोज अधिकारीले बताए ।
जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको हो । अहिले पुनः जैमिनी नगरपालिका–१ कुस्मिशेरामा समेत हात्तीपाइलेको जीवाणु फेला परेको छ । सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा थप दुई वर्ष हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।
हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले नारायणस्थानका घर–घरमा महिला स्वास्थ्य स्वयमसेवीका परिचालन गरी हात्तीपाइलेको लक्षण भए नभएको जानकारी लिने, सचेतना गराउने जस्ता कार्यसमेत गर्न थालिएको छ ।