आइतवार, माघ ११ २०७७
नेपाल वाइड
खोटाङ । माघ ११, कृषि विमा अभियानलाई गति दिनका लागि खोटाङमा ४३ जना अभिकर्ता उत्पादनको तयारी थालिएको छ । किसानको घर–घरमा पुगेर किसानलाई कृषि तथा पशु बिमा गर्नलागि अग्रसर गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले विमा अभिकर्ता उत्पादन सुरु गरेको हो ।
जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवै १५ वटा वडा र हलेसी तुवाचुङ नगरपालिकाका सवै ११ वटा वडाका एक/एक जना तथा अन्य आठ गाउँपालिकाका दुई/दुई जनाका दरले अभिकर्ता उत्पादनको तयारी गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)का बरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले बताउनुभयो ।
केही दिनअघि दिक्तेलमा २१ जनालाई कृषि बिमा अभिकर्ता सम्वन्धी तिन दिने तालिम दिएको परियोजना कार्यान्वयन इकाई (मकै जोन)ले अहिले हलेसीमा २२ जनालाई सहभागी गराएर अभिकर्ता तालिम सञ्चालन गरिरहेको छ । तालिममा सहभागी अभिकर्ताले राष्ट्रिय बिमा समितिबाट अभिकर्ताको प्रमाणपत्र पाउने र सोही प्रमाणपत्रको आधारमा बिमा समितिबाटै पुःन लाइसेन्स पनि पाउने छन् ।
अभिकर्ताको लाइसेन्स नै प्राप्त गरेपछि अभिकर्ताले आफ्नो वडा वा जिल्लाभर कृषि वा पशुको विमा गराउन सुरु गर्ने बरिष्ठ कृषि अधिकृत डा. अर्यालले बताउनुभयो । कृषि तथा पशु बिमाका क्रममा सरकारले ७५ प्रतिशत र किसानले २५ प्रतिशत बेहोर्ने व्यवस्था छ ।
अभिकर्ता तयार भएपछि सम्वन्धित स्थानीय तहलाई कृषि विमाको कार्यक्रम अघि बढाउन सहज हुने वताइएको छ । किसानको लगानी डुव्नबाट जोगाउन कृषि तथा पशु बिमा कार्यक्रम फलदायी हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।