आइतवार, माघ ११ २०७७
नेपाल वाइड
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । ५० वर्षको उमेरमा राई बेहुला भएका हुन् । मुख्यमन्त्री राई २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो बाधिँएका छन् ।
काठमाडौंको गैह्रिधारास्थित एलिस पार्टी प्यालेसमा पार्टीका केही नेता र आफन्तबीच राई जाङ्मु शेर्पासँग विवाह भइरहेको छ । विवाह दुलहीको तर्फबाट शेर्पा विधिअनुसार गरेर बिदाइ गरिने र दुलाहाका घर भित्र्याउँदा राई विधिबाट भित्र्याइने बताइएको छ । भोजपुर निवासी ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभा निवासी २३ वर्षीया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन् । उनीहरूबीच प्रेम सम्बन्ध भएर विवाह भएको बताइएको छ। उमेर अन्तरको चर्चा चले पनि कानुनत: यसले कुनै फरक पर्ने छैन ।

मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पा विवाह बन्धनमा तस्बिर सौजन्य:
भोजपुरको आमचोक गाउँपालिका-३ मा २०२७ साल फागुन ११ गते शेरधन राईको जन्म भएको थियो । २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बनेका थिए । २०५४ सालमा एमाले विभाजन पछि जिल्लामा पार्टीको नेतृत्व सम्हालेका राई जिल्लामा एमालेको शक्तिशाली नेता बने र २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा सांसद बने ।
२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएपनि दोस्रो संविधानसभा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सूचना तथा सञ्चार मन्त्री भए । मुलुककै कान्छो सांसद बनेर राजनीतिमा अगाडि आएका शेरधनले २०७४ सालमा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए ।
उता उनको जोडी बन्न आइपुगेकी शेर्पा संखुवासभा घर भएपनि हाल हजुरआमासँग काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् । उनले प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन् ।
१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन् । मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि पछि बढी चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडियोमा अभिनय समेत गरेकी छन् ।

विवाहमा बेहुला र बेहुली पक्षगरी करिब ४० जनाको मात्र सहभागीता रहेको छ । विवाह पछि आजै बेलुकी राष्टपति र प्रधानमन्त्री सहित सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री निकट सचिवालयले जनाएको छ ।
